बेलिना थापा
लमजुङ, माघ २४ गते। लमजुङको मस्र्याङदी गाउँपालिका–६ बाहुनडाँडाका मोतिमान गुरुङ साढे चार दशकपछि घर फर्किएका छन्। १२ वर्षको उमेरमा घरबाट बेपत्ता भएका गुरुङ ४५ वर्षपछि घर फर्कनुभएको हो। उहाँ अहिले ५७ वर्ष पुग्नु भएको छ।
परिवारका सदस्यले बिर्सिसकेका गुरुङ घर आइपुग्दा सबै चकित भएका हुन्। मोतिमानका कान्छो भाइ श्रीमान गुरुङका अनुसार घर खोज्दै आएको दाजुलाई ठम्माउन मुस्किल भएको थियो। ‘दाइले घर छोड्नुहुँदा म सानो थिएँ। खासै राम्रोसँग खेल्ने, बुझ्ने मौका पनि पाइँन। अहिले घर खोज्दै आउनुभएको छ’, उहाँले भन्नुभयो, ‘हामी दुई दाजुभाइ र तीन दिदीबहिनी छौँ। आमा हुनुहुन्छ। हामीसँग अनुहार मिल्छ। विश्वास गरेर हाम्रो मान्छे मानेका छौँ। स्वीकार गरेका छौं।’
परिवारका अनुसार मोतिमान तीन कक्षामा अध्ययन गर्दै गर्दा पढ्न छाडेर भाग्नुभएको थियो। गाउँकै चन्द्रकान्त घिमिरेसँग काठमाडौं जानुभएका उहाँ घर फर्कनु भएन। चन्द्रकान्त भने केही वर्षमै भर फर्किनुभएको थियो।
काठमाडौंमा अरुको घरमा काम गर्दै गर्दा काम मन नपरेपछि तीन वर्षपछि पोखरा जानुभयो। पोखरामा पनि अरुको घरमा काम गर्दै पेट पाल्नुभयो। उहाँले घरजम पनि गरिसक्नुभएको छ। उहाँको श्रीमती, एक छोरा र एक छोरी छन्। १४ वर्षीय छोरा ८ कक्षामा र १२ वर्षीय छोरी ६ कक्षामा पढ्दैछन्। विभिन्न ठाउँमा काम खोज्दा नागरिकता आवश्यक पर्ने बताएपछि घर सम्झेर आएको उहाँले बताउनुभएको छ।
आफ्नो नागरिकता बनाउने र छोराछोरीको पनि नागरिकता बनाउने उद्देश्यले लामो समयपछि घर फर्किएको बताउनुभएको छ। उहाँलाई घर बाहुनडाँडा भन्ने मात्र थाहा थियो। घरसमेत बिर्सिक्नुभएको थियो।
उहाँ हाल पोखराको लेकसाइडमा परिवारसँग बस्दै आउनुभएको छ। मोतिमान शुक्रबार साँझ ५ बजेतिर घर आइपुगेको कान्छो भाइ श्रीमान गुरुङले बताउनुभयो। सुरुमा अचम्म लागेको र पछि कुरा गर्दै जाँदा खुसी पनि लागेको बताउनुभयो। लामो समयसम्म घर नसम्झेको भन्दै दाजुलाई गुनासो पनि गर्नुभएको थियो।
८१ वर्षीया आमा खुसीमाया गुरुङलाई पनि आफ्नै सन्तान चिन्न गाह्रो भएको थियो। आशा गुमाएसकेको छोरा फर्कदा उहाँको आँखा आँसुले भरिए। छोरा कहाँ छ ? कस्तो अवस्थामा छ ? भनेर धेरै धामीझाक्री, ज्योषिससँग हेराउने, धार्मिक स्थलमा भाकल गर्ने गरेको उहाँले बताउनुभयो। केहीले छोरा जिउँदै रहेको र विवाह गरेर बसेको भविष्यवाणी गरेका थिए। त्यही आशमा परिवारका सदस्य बसेका थिए। लामो समयसम्म नआएपछि बिर्सिएको जस्तै भएको थियो। तर, एक्कासी घर आउँदा सबै सदस्य खुसी भएका छन्।
वडाध्यक्ष लिलाप्रसाद घलेले लामो समयपछि घर फर्किएका मोतिमानको पहिचान भइसकेको बताउनुभयो। नागरिकता नभएकाले घर खोज्दै आएको उहाँले बताउनुभयो। मोतिमानको माइला भाइ सन्तमान, कान्छा भाइ श्रीमान, एक दिदी, दुई बहिनी र आमा छन्। बुवाको भने निधन भइसकेको छ।