लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन ३ गते। मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार सम्मेलन गर्नुभएको छ। जनकपुरधामस्थित मधेस भवनमा पत्रकार सम्मेलन गर्दै मधेस प्रदेश सरकारको चौथो वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको चार वर्षको उपलब्धि बारे धारणा राख्नुभएको हो।
पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री राउतले विभिन्न समस्याका बाबजुद पनि मधेस सरकारले चार वर्षमा थुप्रै उपलब्धि प्राप्त गरेको बताउनुभयो। प्रदेश सरकार गठन हुँदा दुई पार्टीको गठबन्धन थियो। अहिले काँग्रेस, माओवादी र जनता समाजवादी पार्टी मिलेर सरकार बनेको छ।
प्रदेश सरकार गठन हुँदा प्रदेश सरकार चलाउन निकै कठिन भए पनि अहिले दर्जनौ ऐन बनेको उहाँले जानकारी दिनुभयो। मधेस प्रदेश सरकारले अहिलेसम्म ४४ वटा ऐन बनाइसकेको उहाँले बताउनुभयो। ‘अहिलेसम्म ४४ वटा ऐन बनाइसकेका छौँ’, उहाँले भन्नुभयो, ‘अवश्यकतानुसार नियमावली, निर्देशिका र कार्यविधि बनाएर अगाडि बढिरहेका छौँ।’
प्रदेश परिवहन छिट्टै सञ्चालनमा ल्याइने उहाँको भनाइ छ। सरकार २०७४ फागुन ३ गते गठन भएको थियो। मङ्गलबार मधेस सरकार चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको हो। कार्यक्रममा मुख्यमन्त्रीसँगै प्रदेश सरकारका मन्त्रीको उपस्थिति थियो।