logo
२०८१ मंसिर १० सोमवार



एमसीसीबारे सत्ता गठबन्धनमा सहमतिकाे प्रयास जारी

मुख्य समाचार |


एमसीसीबारे सत्ता गठबन्धनमा सहमतिकाे प्रयास जारी


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ५ गते । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएपछि सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बिहीबारका लागि डाकिएको हो ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार, संसद् अवरुद्ध भइरहेको बेला एमसीसी टेबल गर्ने कुरा तत्काल सान्दर्भिक नभएकाले सत्तारूढ दलको बैठक डाक्न अध्यक्ष दाहालले राख्नुभएको प्रस्तावमा प्रधानमन्त्री देउवा सहमत भएपछि बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच बुधबार भएको भेटवार्तामा बिहीबार सत्तारूढ दलको बैठकपछि मात्र अघि बढ्ने सहमति भएको छ । सरकारले बुधबार नै एमसीसीको प्रस्ताव सदनमा टेबुल गर्ने योजना बनाएको थियो । माओवादी केन्द्र संसदीय दलको बैठक सकेर अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो । भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग तत्काल एमसीसी टेबल नगर्न आग्रह गर्नुभएको मल्लले जानकारी दिनुभयो ।

बुधबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले संसद्भित्र सहमति जुटाएर मात्र एमसीसीलाई अघि बढाउनुपर्ने निर्णय गरेको छ । बैठकपछि माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भन्नुभयो, “एकातिर संसद् अवरुद्ध छ । संसद्को अवरोध नहटाई एमसीसी जस्तो विषयले प्रवेश पाउने कुरा हुँदैन । दलहरूबीच सहमतिबिना एमसीसीले संसद्मा प्रवेश पाए सत्तारूढ गठबन्धन कमजोर हुन जानेछ ।” बुधबार माओवादी केन्द्रका भ्रातृ सङ्गठनहरूले नयाँ बानेश्वरमा एमसीसीका विरोधमा प्रदर्शन गरेका छन् । ती प्रदर्शनमा पार्टीका नेता नारायणकाजी श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

अर्को बैठकमा पेस हुने
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राजनीतिक सहमतिमै प्रतिनिधि सभाको अर्को बैठकमा एमसीसी सम्झौता पेस हुने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा उहाँले सहमतिका लागि नै बुधबार प्रस्तावअघि नबढाइएको बताउनुभयो । अर्को बैठक फागुन ६ गतेका लागि बोलाइएको छ ।

दुई दिनमा सर्वपक्षीय सहमतिमा नै प्रस्ताव अघि बढाइने बताउँदै उहाँले भन्नुभयो, “सहमतिका लागि नै हामीले एमसीसीलाई अघि बढाउन रोकेका हौँ । दुई दिनको समय छ । यसबीचमा सहमति गरेर पेस गर्छौं ।” सत्ता साझेदार दलहरूबीच नै विवाद भएपछि बुधबार प्रक्रिया अघि बढेन । प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच बिहीबार सर्वदलीय बैठकबाट निकास खोज्ने सहमति भएकै आधारमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले बुधबारको दैनिक कार्यसूचीमा एमसीसी सम्झौताको प्रस्ताव नसमेटिएको हो ।

संशोधन आवश्यक : खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) जबरजस्ती गरेर पारित गर्न नहुने बताउनुभएको छ । उहाँले देश र जनतालाई सर्वाेपरि राखेर एमसीसी सम्झौता गर्र्नुपर्नेमा जोड दिँदै जनतालाई अन्योलमा राखेर गरिएको सम्झौता राष्ट्रिय हितमा हुँदैन भन्नुुभयो । सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले एमसीसीमा केही संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?