सिराज खान/ललित बसेल/गोविन्द शर्मा
कोहलपुर, फागुन ८ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी लामो यात्रा पार गरेको गोरखापत्रले राजनीति, सामाजिक, विकास, इतिहास, संस्कृति र साहित्यको उन्नयनमा महत्त्वपूर्ण योगदान पु-याएको बताउनुभएको छ । उहाँले गोरखापत्र थुप्रै राजनीतिक र सामाजिक परिवर्तनको साक्षी बनेको बताउँदै वर्तमान डिजिटल युगमा यसलाई सन्तुलित र व्यावसायिक बनाउन पनि सुझाव दिनुभएको छ ।
कोहलपुरमा निर्माण भएको गोरखापत्र संस्थानको प्रकाशन गृहको शनिबार काठमाडौँबाट ‘भर्चुअल’ रूपमा उद्घाटन गर्नुहुँदै उहाँले गोरखापत्रलाई अझ जिम्मेवार, व्यावसायिक र विश्वसनीय बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले गोरखापत्रले आफ्नो पहुँच देशव्यापी रूपमा विस्तार गर्नेक्रममा आफ्नै भौतिक पूर्वाधारसहित कोहलपुरबाट पश्चिम संस्करण प्रकाशन गर्न लागेकोमा गोरखापत्र परिवारलाई बधाई दिनुभयो । कोहलपुरबाट गोरखापत्रको आफ्नै प्रेस सञ्चालनमा आएपछि गोरखापत्रको उपस्थिति र पहुँच लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पुग्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले गोरखापत्र नेपाली पत्रकारिता इतिहासको गौरवमय संस्था भएको र १२१ वर्षे गोरखापत्रको यात्रा मुलुकको जीवन इतिहासको आधारशिला पनि भएको बताउनुभयो । विक्रम संवत् १९५८ देखि जनतालाई निरन्तर रूपमा सूचना तथा शिक्षा प्रदान गर्दै आएको गोरखापत्र मुलुकको जेठो अखबारमात्र नभई, नेपाली पत्रकारिताको पाठशाला पनि भएको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, “गोरखापत्र नेपालको सभ्यता, संस्कृति, साहित्य र भाषिक विविधताका धरोहर पनि हो ।”
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रले कोहलपुरबाट प्रकाशन गर्न लागेको कामले सिङ्गो नेपाललाई एकताको सूत्रमा बाँध्ने अभियानलाई जोडेको बताउनुभयो । गोरखापत्रको विषयवस्तुको प्रस्तुतीकरणले अहिले यो पत्रिका सरकारीभन्दा पनि राज्यको अखबारका रूपमा पाठकसामु देखापरेको मन्त्री कार्कीले उल्लेख गर्नुभयो । पृथक पहिचान कायम राखी व्यावसायिक रूपमा अग्रसर रहन पनि उहाँले गोरखापत्रलाई सुझाव दिनुभयो ।
नेपालको मात्र नभई, दक्षिण एसियाको सबैभन्दा पुरानो अखबारका रूपमा परिचित गोरखापत्रको आगामी यात्रा अझै प्रभावकारी हुने विश्वास लिएको मन्त्री कार्कीले व्यक्त गर्नुभयो । गोरखापत्रले सधैँ सही र सत्य समाचारलाई मात्र पस्कन्छ भन्ने विश्वास सबैमा रहेको भन्दै मन्त्री कार्कीले आधिकारिकता र सत्य समाचारका लागि सधैँ गोरखापत्र नै पढ्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
१२१ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको गोरखापत्र दैनिक नेपाली समाजको ज्युँदो इतिहास भएको मन्त्री कार्कीले जनाउनुभयो । नेपाल र नेपालीको सिङ्गो पहिचान बोक्न सफल गोरखापत्रको यात्रा गौरव गर्नलायकको छ भन्दै उहाँले गोरखापत्रले कोहलपुरबाट प्रकाशन यात्रा सुरु गरेपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो विस्तार बढाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
यसले विभिन्न जातजाति, संस्कृति, भौगोलिक विविधतालाई समेत समेट्नुपर्ने दायित्व पनि गोरखापत्रले बोक्नुपरेको भन्दै उहाँले राष्ट्रिय एकता र सद्भावका पक्षमा पनि आफूलाई उभ्याउनुपरेको हुँदा यो गोरखापत्रको गौरव भएको बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले गोरखापत्रले आफ्नो सेवा र पहुँचलाई देशभर विस्तार गर्ने उद्देश्यमा नयाँ आयाम थपेकोमा बधाई दिनुभयो । विगतमा यसको पहुँच दूरदराजमा पुग्नलाई महिनौँ लाग्ने अवस्थालाई अब मुक्ति मिल्ने उहाँको भनाइ छ । कोहलपुरबाट गोरखापत्रको प्रकाशन आरम्भ भएपछि तीन प्रदेशका ३१ जिल्लामा गोरखापत्रको पहुँच पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
आफ्नो प्रेस नहुँदा विगतमा प्रकाशन भएको पश्चिम संस्करण बन्द हुन पुगेको भन्दै उहाँले अब भने आफ्नै प्रेस भएकाले अब निरन्तर र दिगो हुने उल्लेख गर्नुभयो । कोहलपुरबाट प्रकाशन भएपछि यो क्षेत्रमा अझ बढी योगदान पु¥याउने उहाँको भनाइ छ । भवन निर्माणका केही काम बाँकी भएकाले समयमै सम्पन्न गर्न सरकारको सहयोग जारी रहने सचिव अर्यालले बताउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र एउटा पत्रिकामात्र नभई सभ्यता, संस्कृति र साहित्यको गौरव र इतिहास भएको बताउनुभयो । सिङ्गो युगको प्रतिनिधि गोरखापत्र भएको भन्दै उहाँले यो राजनीतिक, सामाजिक क्षेत्रका हरेक मोडको साक्षीका रूपमा उभिएको चर्चा गर्नुभयो ।
अहिलेको डिजिटल युगसुहाउँदो बनाउनका लागि गोरखापत्रलाई सुधार गरेर स्मार्ट गोरखापत्रका रूपमा विकास गर्ने अभियान थालिसकेको उहाँले जानकारी दिनुभयो । कोहलपुर प्रकाशन गृहबाट गोरखापत्र प्रकाशन गरेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गोरखापत्रको उपस्थित र पहुँच अझ बाक्लो हुने प्रतिबद्धता अध्यक्ष सुवेदी व्यक्त गर्नुभयो ।
दुई वर्षअघि भाडाको पूर्वाधारबाट प्रकाशन सुरु भए पनि दुई महिनामै स्थगित भएको बताउँदै उहाँले अब आफ्नै प्रकाशन गृहबाट प्रकाशन थालिएकोमा खुसी व्यक्त गर्नुभयो । साथै आगामी दिनमा हरेक प्रदेशबाट प्रादेशिक प्रकाशनका लागि अध्ययन र छलफलसमेत सुरु भएको बताउनुभयो । कार्यक्रममा गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई, दी राइजिङ नेपालका निमित्त प्रधानसम्पादक भीमसेन थपलिया, गोरखापत्रका योजना निर्देशक ओम भुसाल, गोरखापत्र संस्थानका सञ्चालक सदस्य राजु महत, कविता अधिकारी, कोहलपुर प्रमुख तारा बस्याल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहलगायतको उपस्थिति थियो ।
यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. अर्यालले कोहलपुरस्थित नेपाल टेलिभिजनको कोहलपुर प्रसारण कार्यालयको पनि निरीक्षण गर्दै कोहलपुर प्रसारणका लागि चाहिने जनशक्ति र उपकरण थप्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । सो अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले कोहलपुर प्रसारणबारे विस्तृत जानकारी गराउनुभएको थियो ।