काठमाडौं, फागुन ११ गते। सत्तारुढ दल नेपाली काँग्रेसको बुधबारको पदाधिकारी बैठकले भातृसंगठनको विधान परिमार्जनसहित पारित गरेको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा यसअघिको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भातृ एवम् शुभेच्छुक संगठनको विधानमाथि पदाधिकारीको सुझावसहित पारित गर्ने निर्णय गरेको थियो।
सोही अनुरुप, कार्य सम्पादन समितिका सदस्यको रायलाई ध्यानमा राखेर भातृ संगठनको विधानलाई अन्तिम रुप दिइएको काँग्रेस प्रवक्ता डा. रामशरण महतले जानकारी दिनुभयो।
यसमा महिला संघ, प्रजातान्त्रिक सेनानी संघ लगायतका विधान पारित भएको उहाँले भन्नुभयो। काँग्रेसको भातृ संगठनको विधानका विषयमा पार्टीमा निरन्तर छलफल समेत हुँदै आएको पनि पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
विधानका लागि अन्तिम बैठक बसेको पनि कार्यालयका मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलको भनाइ छ।