काठमाडौं, फागुन १२ गते । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन गराउन दलहरुबीच परामर्श तीव्र भए पनि यो विषय थप पेचिलो बन्दै गएको छ ।
संसदमा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसदबाट अनुमोदन गराउन सरकारका तर्फबाट पहल भए पनि सत्ता साझेदार दलहरूमा नै सहमति जुट्न नसक्दा निष्कर्षमा पुग्न सकेको छैन । एमसीसी सम्झौताबारे सैद्धान्तिक (सामान्य) छलफलको कार्यसूचीसहित बिहीबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक कार्यव्यवस्था तथा परामर्श समितिमा सहमति नजुटेपछि फागुन १३ गते दिउँसो १ बजेसम्मका स्थगन भएको छ ।
एमसीसी अनुमोदानका लागि सहमतिका साथ अघि बढ्न सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसले निरन्तर प्रयास भने जारी राखेको छ । उसले सत्तामा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का शीर्षनेताका साथै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग समानान्तर छलफल गरिरहेको छ ।
यही फागुन १६ गतेभित्र एमसिसी सम्झौताबारे निधो गरिसक्न अमेरिकी पक्षले आग्रह गरिसकेकाले यो विषयमा घनीभूत छलफल भएको हो । दलहरु गृहकार्यमा रहेका बेला सडकमा भने एमसीसीको विरोधमा सत्ता गठबन्धनकै केही दलको सहभागितामा प्रदर्शन भइरहेको छ ।
नेपालको सडक पूर्वाधार विकास र प्रसारण लाइन विस्तारका लागि अमेरिकी सरकारले दिने ५५ अर्ब बराबरको अनुदानका लागि भएको सो एमसीसी सम्झौताका कतिपय प्रावधानमाथि प्रश्न उठाइएकाले सहमति जुट्न सकिरहेको छैन । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई राष्ट्रिय सहमतिका साथ संसदबाट अनुमोदनका लागि सक्रियता देखाउनुभएको छ । उहाँले सत्ता साझेदार दल र प्रतिपक्षी एमालेसँग पटक–पटक छलफल गर्नुभएकाे हाे ।
बिहीबारको भेटघाट र दौडधुप
बिहीबार सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताको भेटवार्ता तीव्र बन्यो। बिहीबार बिहानै सत्ता गठबन्धनका शीर्ष नेताको छलफल भयो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच वार्ता भयो। सिंहदरबारमा भएको भेटमा एमसीसी सम्झौताको छलफल र प्रतिनिधिसभाको कार्यसूचीमा केन्द्रित थियो।
प्रधानमन्त्री देउवा र प्रचण्डको भेट
एकीकृत समाजवादीका अध्यक्ष र वरिष्ठ नेतासँगको भेट लगत्तै प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुग्नुभयो। बालुवाटारमा भएको भेटमा प्रतिनिधिसभाको कार्यसूची र आगामी रणनीतिको विषयमा छलफल भएको थियो। प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन अनुरोध गर्दा प्रचण्डले भने यसलाई तत्काल अगाडि नबढाउन अनुरोध गर्नुभएको थियो।
संसद स्थगित भएपछि एमालेसँग प्रधानमन्त्रीको वार्ता
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अघि नै नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शन उग्र बनेपछि प्रतिनिधिसभा बैठक स्थगित भयो। बैठक स्थगित भए लगत्तै संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग छलफल गर्नुभयो। छलफलमा प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो। काँग्रेस महामन्त्री गगन थापा सहभागी बैठकमा एमालेको तर्फबाट अध्यक्ष ओलीसँगै नेता सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल उपस्थित हुनुहुन्थ्यो।
सभामुख सापकोटा र गृहमन्त्री खाँणको भेट
बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ। बिहीबारको प्रतिनिधिसभा स्थगित भएपछि उहाँहरुबीच भेट भएको हो। प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीसँग भेट गरे लगत्तै गृहमन्त्रीले सभामुखसँग भेट गर्नुभएको हो।
प्रचण्ड र ओलीको भेट
दिनभर सत्ता र विपक्षी दलका नेताको भेटपछि साँझ भने सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच बानेश्वरमा छलफल भएको छ। बानेश्वरस्थित संसद भवनको एमाले संसदीय दलको कार्यकक्षमा प्रचण्डले एमाले शीर्ष नेतासँग छलफल गर्नुभएको हो। ओलीसँगको भेटमा प्रचण्डले प्रतिनिधिसभा बैठकमा एमालेले गर्दै आएको अवरोध खुलाउने विषयमा छलफल भएको हो।
भेटको निष्कर्ष
दिनभर शीर्ष नेताको भेटको ठोस निष्कर्ष सार्वजनिक भइसकेको छैन। काँग्रेसले एमसीसीमा साथ नदिए सरकार छोड्न सत्तारुढ दलका शीर्ष नेतालाई चेतावनी दिइसकेको छ। काँग्रेसले एमसीसी पारित गरेर अगाडि बढ्नेगरी प्रतिपक्षी दल एमालेसँग सहकार्यका लागि हात बढाए पनि सहमति भने हुन सकेको छैन। प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलसँगै सत्ता गठबन्धनमा सहभागी दललाई मनाउने प्रयासलाई भने जारी राख्नुभएको छ। माओवादीले एमालेसँग संसदको अवरोध हटाउन अनुरोध गरेको छ भने काँग्रेसले एमालेलाई संसदको अवरोध खुलाउँदै एमसीसी पास गर्न साथ खोजेको छ।
संसद् स्थगित भएपछिको बोली
काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले अन्तर्राष्ट्रियरूपमा नै मुलुकको प्रतिष्ठन बचाउनका लागि पनि यतिबेला काँग्रेस आफ्नो अडानमा पहाडझैँ उभिनुपर्ने बाध्यतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'एमसीसीबारे सरकारले प्रस्तुत गर्ने र सरकारमा सहभागी दलले नै विरोध गर्ने भन्ने त संसदीय मर्यादा हुन्न । सरकार अल्पमतमा भएपछि यो विषय टुङ्गिँदैन, त्यसैले प्रधानमन्त्रीलाई बहुमत देखाउन केही समय चाहियो, एमसीसीको विरोधमा रहेका दललाई कित्ता स्पष्ट गर्न समय चाहियो, त्यसैले १३ गतेसम्मका लागि संसद्को बैठक सारिएको हो, सम्भवतः उहाँहरु गठबन्धनमा रहने–नरहने टुङ्गो आजै साँझसम्म लाग्छ ।'
एमसीसीमा सहमति जुटाएर अघि बढ्न एमालेसँग पछिल्ला दिनमा निरन्तर छलफल भइरहेकाले निष्कर्षमा पुग्न सक्ने नेता विश्वकर्माको विश्वास छ । उहाँले एमसीसी एउटा सहयोगमात्रै नभएर नेपालको सबैभन्दा ठूलो दातृ निकाय, नेपालको स्वतन्त्रता र आर्थिक समृद्धिका लागि पनि संयुक्त राज्य अमेरिकाको सहयोगलाई देशको अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय पनि भएकाले किनारा लगाउनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले सचिव योगेश भट्टराईले सत्ता र प्रतिपक्षबीच संवाद हुनु राम्रो भए पनि निष्कर्षमा नपुगी पछाडि फर्किनु अर्को भुल हुने तर्क गर्नुभयो । राष्ट्रिय मुद्दालाई राष्ट्रिय सहमतिका साथ किनारा लगाउनु उपयुक्त हुने धारणा राख्दै उहाँले एमालेले उठाएको मागमा सम्बोधन हुने कुराको सुनिश्चितता नभएसम्म कुनै सहमति नहुने बताउनुभयो । एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसद्लाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै संसद्का बैठकमा अवरोध गर्दै आएको छ । सरकारमा हुँदा एमसीसीलाई सदनमा प्रस्तावका रूपमा दर्ता गराएको एमालेले हाल आफू विपक्षमा रहेकाले सोबारे सत्ता गठबन्धनको एकीकृत धारणा नआएसम्म आफ्नो धारणा स्पष्ट नगर्ने जनाउँदै आएको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीलाई यथास्थितिमा पारित नगराउन आफ्नो पार्टी एकढिक्का रहेको बताउनुभयो । 'हाम्रो पार्टी एकढिक्का छ, गठबन्धन बन्ने र टिक्ने अस्थायी कुरा हो । राष्ट्रिय हितभन्दा माथि गठबन्धन र एमसिसी हुन सक्दैन', उहाँले भन्नुभयो ।
माओवादी केन्द्रका नेता राम कार्कीले अहिलेकै अवस्थामा एमसीसीमा सहमति जनाउन नसकिने जिकिर गर्नुभयो । उहाँले राष्ट्रिय हितका अगाडि आफूहरुका लागि सत्ता गठबन्धन ठूलो कुरा नभएको स्पष्ट गर्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरत्सिंह भण्डारीले पार्टी एमसीसीलाई पारित गराउने पक्षमा रहेको स्पष्ट पार्नुभयो । एमसीसीबारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल भएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति हुन नसक्दा संसद् सचिवालयमा दर्ता भए पनि एमसिसी सम्झौता संसदमा प्रस्तुत हुन सकेको थिएन । तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २०७५ माघ २५ गते सो अनुदान सम्झौता अनुमोदनका लागि संसदमा पेश गर्न स्वीकृति दिएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एमसिसी सम्झौता संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न २०७६ असार ३० गते संसदमा पेश गर्नुभएको थियो । राससको सहयोगमा