काठमाडौं, फागुन १३ गते। नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने बताउनुभएको छ। अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा पार्टीको महाधिवेशन र त्यसपछि भएका छलफलको निर्णय स्पष्ट रहेको भन्दै यस्तो बताउनुभएको हो।
प्रतिनिधिसभामा पेश भइसकेको एमसीसीबारे मतदान हुँदा पार्टीले संसद बैठक बहिष्कार गर्ने र यथास्थितिमा विपक्षमा मतदान गर्ने उहाँले प्रष्ट पार्नुभयो। नेता श्रेष्ठले एमसीसी सम्झौता र यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकुलताका प्रावधानलाई संशोधन नगरी स्वीकार नगर्ने उल्लेख गर्नुभएको छ। पार्टीले यथास्थितिमा एमसीसी अनुमोदनमा सहयोग गर्छ भन्ने प्रचार गलत भएको उहाँको दाबी छ।
‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकुलका प्रावधानलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने। हामी त्यसैमा कायम छौं’, श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ, ‘संसदमा यो पेश गरिसकिएको सन्दर्भमा हाम्रो पार्टी यसलाई विफल पार्न विपक्षमा मतदान गर्छ। यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक वहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो।’
एमसीसी पारित गर्न माओवादीले सहयोग गर्छ भन्नु भ्रम भएको उहाँको भनाइ छ।