काठमाडौं, फागुन १५ गते। अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ।
पहिलो बैठकले एमसीसीबारेको सामान्य छलफलको प्रस्ताव पारित गरेको छ। सामान्य छलफलको प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक सुरु भएको हो। दोस्रो बैठकको कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । कार्यसूचीको दोस्रो नम्बरमा एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव पेश हुँदैछ । दुवै प्रस्ताव अर्थमन्त्री शर्माले पेश गर्नुहुनेछ ।
प्रतिनिधिसभाको बैठकबाट एमसीसीबारे सामान्य प्रस्ताव पारित भएपछि बानेश्वरस्थित संसद भवनमा बसेको मन्त्रिपरिषद्को बैठकले एमसीसीको व्याख्यात्मक घोषणा पारित गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार व्याख्यात्मक घोषणा मन्त्रिपरिषद्ले पारित गरेको हो। व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट आजै एमसीसी पारित गर्ने तयारी सरकारले गरेको छ।