logo
२०८१ मंसिर ९ आईतवार



स्थानीय तह निर्वाचनमा ८० दलले भाग लिने

मुख्य समाचार |


स्थानीय तह निर्वाचनमा ८० दलले भाग लिने


काठमाडौं, फागुन १६ गते । स्थानीय तह निर्वाचनमा सहभागी हुन ८० वटा राजनीति दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा भाग दिन ८० वटा राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । यद्यपि आयोगमा १११ वटा राजनीतिक दल दर्ता छन् । जसमा ८० वटा दलले निर्वाचनमा भाग लिन निवेदन दिएका हुन् ।

आयोगले फागनु ५ देखि १५ गते आइतबारसम्म दल दर्ताका लागि समय निर्धारण गरेको थियो । आयोगका अनुसार राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग दिन निवेदन दिएका छन् ।

दल दर्ताका लागि निवेदन दिने समय सकिएको र अब राजनीतिक दलले बुझाएको कागज कानुन बमोजिम छ कि छैन त्यसबारे छानबिन गरेर मात्र आयोगमा दर्ता गर्ने प्रवक्ता पौडेलले बताउनुभयो ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार आयोगमा दर्ता भएका निवेदनमा आवश्यक कागज भए नभएको बारे छानबिनको काम टुङ्ग्याइसकेपछि २६ गते राजनीतिक दल दर्ताको स्वीकृति दिइनेछ ।

आयोगमा दर्ता भएका दलहरुले निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलहरुले केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या खुलाउनुपर्ने, लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?