logo
२०८१ बैशाख ७ शुक्रवार



जनकपुर–पोखरा उडान सुरु, मुख्यमन्त्री पोखरेल जनकपुरधाममा

मुख्य समाचार |
राजनीति |


जनकपुर–पोखरा उडान सुरु, मुख्यमन्त्री पोखरेल जनकपुरधाममा
जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल। तस्बिर गोप


लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन २१ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल जनकपुर–पोखराको पहिलो उडानबाट जनकपुरधाम आउनुभएको छ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम–पोखरा उडान सञ्चालनको पहिलो दिन शनिबार गण्डकीका मुख्यमन्त्री पोखरेल जनकपुरधाम आउनुभएको हो। मधेस प्रदेका मुख्यमन्त्री लालबाबु राउतको विशेष आग्रहमा उहाँ जनकपुरधाम भ्रमणका लागि आउनुभएको हो।

जनकपुरधाम आगमनको क्रममा गण्डकीका मुख्यमन्त्री पोखरेलले दुई पर्यटकीय नगरीको हवाई यातायातले पर्यटकीय क्षेत्रसहित अर्थिक समृद्धिमा सहयोग पुग्ने बताउनुभयो।

उहाँले मधेस प्रदेशको अन्य क्षेत्रको तुलनामा जनकपुरधाम धार्मिक पर्यटकीय स्थलको रुपमा प्रशस्त सम्भावना बोकेको क्षेत्र रहेकोले गण्डकी प्रदेश र मधेसका पर्यटकीय स्थललाई अन्य प्रदेश र सहरसँग जोड्ने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी जनकपुरधाम विमानास्थलका प्रमुख योगेन्द्रनाथ कुँवरले नेपालको मुख्य पर्यटकीय गन्तव्य स्थलको रुपमा स्थापित पोखरा–जनकपुरको हवाई उडानले उत्साहित बनाएको बताउनुभयो।

उहाँका अनुसार नेपालका आन्तरिक विमानस्थलमध्ये जनकपुरधाम विमानस्थल नयाँ संरचनाका आधारमा निर्माण गरिएको विमानस्थनको रुपमा स्थापित भएको छ।

उक्त विमानस्थलमा एक पटकमा ६ वटासम्म जहाज पार्क गर्न मिल्ने उहाँले बताउनुभयो। अहिले जनकपुर–पोखरा उडानका लागि १८ जनासम्म यात्रु बोक्न मिल्ने विमान छन्। यात्रुको माग अनुसार उडान संख्या र जहाजको आकार थप्न सकिने कुँवरको भनाइ छ।

जनकपुर–पोखरा हप्ताको तीन दिन सोमबार, बिहीबार र शनिबार उडान भर्नेछ। उक्त उडानको भाडादर ४ हजार १ सयदेखि ९ हजार १ सयसम्म निर्धारण गरिएको बुद्ध एयरका जनकपुरधामका स्टेशन म्यानेजर विजयकुमार सिंहले बताउनुभयो। पोखराबाट मुख्यमन्त्रीसहित १८ जनाको टोली जनकपुरधाम भ्रमणका लागि आउनुभएको हो।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?