विष्णुप्रसाद पोखरेल
दमक, फागुन २१ गते। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले १ नम्बर प्रदेशको नाम ‘कोसी’ राख्नु पर्ने धारणा सार्वजनिक गर्नुभएको छ। गृह जिल्ला झापामा शनिबार प्रेस चौतारीको प्रदेश अधिवेशन उद्घाटन समारोहमा यस्तो बताउनु भएको हो।
अध्यक्ष ओलीले १ नम्बर प्रदेशको पहिचान सहितको नाम कोसी नामकरण गर्न उपयुक्त हुने बताउनुभयो। ‘पहिचान, इतिहास र सभ्यताको कुरा गर्ने हो भने कोसी भन्दा उपयुक्त नाम अरु हुन नसक्नु पर्ने हो’, ओलीले भन्नुभयो।
सगरमाथा, कञ्चनजंघा, मकालु सबैलाई प्रतिनिधित्व गर्ने नाम कोसी भएको पनि ओलीले बताउनुभयो। प्रदेशमा प्रदेशको नामाकरणको विषयमा बहस चलिरहेको समयमा अध्यक्ष ओलीले कोसी नाम प्रस्ताव गर्नुभएको हो।
कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछ। सातवटा नदी मिसिएकाले यसलाई सप्तकोसी पनि भनेको पाइन्छ।