काठमाडौं, फागुन २६ गते। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को बुधबारदेखि सुरु भएको तेस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ। बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ।
राजनीतिक प्रतिवेदनसँगै बैठकले १४ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ। पारित प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र यसको व्याख्यात्मक घोषणाको चर्चा गरेको छ। बैठकमा पार्टी पुर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यको समीक्षा र पार्टीको आगामी कार्य योजना लगायतका विषय समेटिएको छ।
राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्च सञ्चालन निर्देशिकामा केन्द्रीय कमिटीमा नौ समूहमा छलफल एवम् निष्कर्श प्रस्तुत भएको महासचिव डा. वेदुराम भुसालले जानकारी दिनुभयो। बैठकपछि महासचिव भुसालले विज्ञप्तिमार्फत् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
गण्डकी प्रदेशबाट रेखा थापा बस्याल, सुदूरपश्चिमबाट शेरबहादुर कुँवर, मधेस प्रदेशबाट सत्यनारायण यादव, प्रदेश १ बाट धर्मराज पौडेल, बागमती प्रदेशबाट विदुर सापकोटा, कर्णाली प्रदेशबाट अमर थापा, लुम्बिनी प्रदेशबाट राजु गुरुङ, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोर्चा तथा विभागबाट प्रमेख पोखरेलले प्रतिवेदनमाथि सुझाव एवम् निष्कर्श राख्नुभएको छ।