logo
२०८१ बैशाख १४ शुक्रवार



समाजवादी क्रान्तिका लागि तयार रहनुहोस् : अध्यक्ष प्रचण्ड

मुख्य समाचार |
प्रदेश |


समाजवादी क्रान्तिका लागि तयार रहनुहोस् : अध्यक्ष प्रचण्ड


अविनाश चौधरी
धनगढी, फागुन ३० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश स्तरीय राजनीतिक वैचारिक प्रशिक्षण सोमबार धनगढीमा सम्पन्न भएको छ । आउँदो स्थानीय तहको चुनावलाई लक्षित गरेर माओवादी केन्द्रले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गरेको बताएको छ ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिका लागि तयार रहन सुदूरपश्चिम प्रदेशका माओवादी नेताहरुलाई अपिल गर्नुभयो । सुदूरपश्चिमको आवश्यकता परिपूर्तिका लागि यसलाई एउटा प्रदेश बनाइए पनि त्यतिले मात्रै नपुगेकाले समाजवादी क्रान्ति र समाजवादी यात्रा अपरिहार्य रहेको प्रचण्डको भनाई छ ।

‘जबसम्म समाजवादीको यात्रामा अगाडि बढ्नु हुन्न तबसम्म संयौं वर्षदेखिको विभेद कायम रहिरहन्छ । र, सुदूरपश्चिमले समुचित रुपमा आफ्नो अधिकार पाउन सक्दैन ।’, उहाँले भन्नुभयो । जनवादी क्रान्तिका लागि अग्रणी भूमिका निर्वाह गरेको सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाकाको रुपमा स्थापित हुन ठूलो अवसर रहेको प्रचण्डले चर्चा गर्नुभयो ।

इतिहासदेखि नै काठमाडौंले सुदूरपश्चिमलाई विभेद गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘अब समाजवादको आधार निर्माण गरेर काठमाडौंलाई एउटा सन्देश दिने अवसर सुदूरपश्चिमलाई छ ।’ पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले समता र समानतामूलक समाजको सन्देश दिने ठूलो जिम्मेवारी सुदूरपश्चिमसामू रहेको बताउनुभयो ।

‘म यहाँका नेताहरुलाई गम्भीरताकासाथ विचार गर्न आग्रह गर्दछु’, उहाँले भन्नुभयो, ‘नयाँ पार्टी, विचार र समाजवादको मोडेल निर्माण गर्ने प्रक्रियामा तपाईहरुले आफ्नो क्षमताको कृतिमान बनाउनुपर्ने आवश्यकता छ ।’

प्रशिक्षण कार्यक्रमलाई माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, सुदूरपश्चिम अध्यक्ष हरिप्रसाद चौधरी ‘उत्सव’, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतकाले सम्बोधन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?