काठमाडौं, चैत ३ गते । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल गर्ने विषयमा मुख्य नेतृत्व्मा कुनै विमति नभएको बताउनुभयो ।
बिहीबार लुम्बिनी प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेल गर्ने तर यो भन्दा पनि पार्टीको आफ्नै एजेण्डाको बलमा चुनाव जित्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
गठबन्धन होला अनि जित्नेभन्दा पनि आवश्यकता अनुसार निर्वाचनमा तालमेल गरेर पनि सकारात्मक परिणाम निकाल्ने कुरालाई ध्यान दिनुपर्ने उहाँले भन्नुभयो ।
राजनीतिक, आर्थिक एजेण्डा छन्, स्थानीय स्तरमा नै अधिकार सम्पन्न बनाउने, शिक्षा, स्वास्थ्य, रोजगारी, सांस्कृतिक रुपान्तरण, जनमुखी र समाजवादका एजेण्डा बनाइनुपर्ने उहाँको भनाइ छ ।
अहिले तोकिएको समयमा नै निर्वाचन हुने वा नहुनेमा दुविधामा नपर्न र यसै विषयमा बिहीबार बिहान पनि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल भएको उहाँले जानकारी दिनुभयो ।
यससँगै संसद पुनः सुचारु हुनुपर्ने भनाइ उहाँको छ । ‘विना अर्थ संसद अवरुद्ध भएको छ । आशा गरौं सदन सुचारु हुनेछ ।’, उहाँले भन्नुभयो ।
अझै पनि प्रतिगमनको खतरा टरिनसकेको भनाइ पनि उहाँको छ ।