सिन्धुली, चैत ५ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताउनुभएको छ ।
शनिबार सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभयो । आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानी हुने भएकाले जसरी पनि जित्नुपर्ने उहाँको तर्क छ ।
‘खतरा अझै टरेको छैन, हामीले अझै जितेका छैनौँ, प्रतिगमनकारीहरू माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेकाले घर–घरमा गएर जनतामाझ जोडिन आग्रह गर्दछु’, उहाँले भन्नुभयो । जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर हामीलाई पाल्ने जनतामा जोड्ने गरी अभियान थाल्न निर्देशन दिनुभयो ।
‘साथीहरू यो निर्वाचनलाई सानो नठान्नुहोला, हामीले हार्यौँ भने संविधन र गणतन्त्र नै हार्नेछ, जनयुद्ध र शान्ति प्रक्रियाले नै हार्ने भएकाले यो निर्वाचन जसरी पनि हामीले जित्नैपर्छ’, प्रचण्डले थप भन्नुभयो ।
एमालेले सत्य तर्कबिना संसद् चल्न नदिएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले अझै पनि अध्यक्ष प्रचण्डले ‘रिल्याक्स’ गर्ने अवस्था नआएको बताउनुभयो ।
‘समाजवादको यात्रामा जान जसलाई नायक बनाउन लागियो उनी नै खलनायक भए’, उहाँले भन्नुभयो, ‘मुलुकमा गणतन्त्र विरोधीहरू अझै सक्रिया भएकाले सचेततापूर्वक अधि बढ्न आग्रह गर्नुभयो । सिंहदरबारलाई गाउँ–गाउँमा पु¥याउन हामीले संविधान बनायौँ ।’
अध्यक्ष प्रचण्डले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हजारौँ नेपाली जनताका छोराछोरीले रगत बगाएको स्मरण गराउनुभयो ।
नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतापछि मुलुकमा सङ्घीयताको ढोका खुलेको उहाँले बताउनुभयो । ‘मुलक सङ्कटमा परे त्यो शान्ति सम्झौतामा हस्ताक्षर गरेको नाताले देश र संविधानको रक्षा मैले गर्नुपर्छ, उहाँले भन्नुभयो ।