logo
२०८१ बैशाख १६ आईतवार

   स्थानीय तह निर्वाचन   



सत्ताइस करोडका सामग्री ल्याइँदै

मुख्य समाचार |


सत्ताइस करोडका सामग्री ल्याइँदै


काठमाडौँ, चैत ६ गते । स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामग्री विदेशबाट आयात गरिँदै छ । निर्वाचन आयोगले सामग्री आयातका लागि आपूर्तिकर्तासँग सम्झौता गरिसकेको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक २३ प्रकारका सामग्री विदेशबाट आयात गरिने जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनमा ५६ प्रकारका सामग्री आवश्यक पर्नेछन् ।

नेपालमा स्थानीयस्तरमै उपलब्ध हुने १५ प्रकारका सामग्री खरिद व्यवस्थापन गर्न निर्वाचन आयोगले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई अनुमति दिइसकेको छ । मतपेटिका भने आयोगसँग मौज्दात नै छ । उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगसँग करिब ६५ हजार मतपेटिका मौज्दात रहेको जानकारी दिनुभयो ।

तर, मतपत्रको ढाँचा विगतभन्दा ठूलो भए मौज्दात मतपेटिकामा अटाउन समस्या हुने उहाँले बताउनुुभयो । आयात गर्नुपर्ने कारणबारे खुलाउँदै प्रवक्ता पौडेलले भन्नुभयो, “नेपालमा उत्पादन नहुने र बढी मात्रामा आवश्यक पर्ने सामग्री खरिद गर्न आपूर्तिकर्तासँग सम्झौता गरिएको हो ।” निर्वाचनबाहेक अन्य काममा प्रयोग नहुने हुँदा ती सामग्रीको उत्पादन नेपालमा हुँदैन ।

निर्वाचन प्रयोजनका लागि मात्रै बढी मात्रामा प्रयोग हुने स्वस्तिक चिह्न, छेकबारा, लाहालगायतका सामग्री आपूर्तिकर्ताले विदेशबाट मगाउनेछन् । आयोगको जिन्सी शाखाका अनुसार स्थानीय निर्वाचनमा छेकबारा ७८ हजार थान, स्टाम्प प्याड दुई लाख चार हजार थान, रबर म्याट ७८ हजार थान, स्ट्याप्लर मेसिन २६ हजार थान र स्वस्तिक छाप दुई लाख आठ हजार थान आवश्यक पर्नेछ ।

त्यसैगरी, ५२ हजार प्याकेट पित्तलको छाप र २६ हजार पित्तलको लाहा तथा चार लाख ८० हजार ‘सेक्युरिटी सिल’ निर्वाचनका लागि आयोगले आपूर्ति गर्न सम्झौता गर्दै छ । एक प्याकेट लाहामा तीन थान हुनेछ । आयोगले आयात गर्नुपर्ने २३ प्रकारका सामग्री खरिद गर्न १० वटा प्याकेजमा प्रस्ताव आह्वान गरेको थियो । सबै सामग्री खरिद गर्न २७ करोड १९ लाख ५२ हजार ८०६ रुपियाँ खर्च हुनेछ । आयात गरिने २३ सामग्रीमध्ये सबैभन्दा बढी मतदान स्थलको गोपनीयताका लागि प्रयोग गरिने पर्दा र छेकबारामा मात्रै १२ करोड ७८ लाख ९१ हजार रुपियाँ खर्चिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?