logo
२०८१ मंसिर ८ शनिवार



पानीको स्रोत संरक्षणमा जोड

मुख्य समाचार |


पानीको स्रोत संरक्षणमा जोड


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले पानीको स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पु-याउन सबैलाई आग्रह गर्नुभएको छ । विश्व पानी दिवस–२०२२ का अवसरमा शुभकामना दिँदै उहाँले समस्त जीवनजगत्को अस्तित्वको रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले पानी र प्रकृतिसँग प्राणीजगत्को अस्तित्व गाँसिएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको दिगो संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

जलभण्डार संरक्षण गरौँ : प्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले जलभण्डारहरूको संरक्षण गर्दै तिनको दिगो उपयोग गर्नुपर्ने बताउनुभएको छ । विश्व पानी दिवसमा शुभकामना दिँदै प्रधानमन्त्रीले नेपालमा उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु हाम्रो साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा एकीकृत जलस्रोत व्यवस्थापन, पानीको न्यायोचित र समुचित व्यवस्थापन, स्रोतको समन्यायिक वितरणलाई मूल ध्येय राखी जलस्रोत नीति, २०७७ तयार भई कार्यान्वयनमा आइसकेको उल्लेख गर्नुभएको छ ।

जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको उल्लेख गर्दै उहाँले स्वच्छ खानेपानीको आपूर्ति र सरसफाइसम्बन्धी उद्देश्यहरूलाई प्राथमिकतामा राखी सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?