धिरज दाहाल
विराटनगर, चैत ११ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तिनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभएको छ। विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उहाँले आगामी निर्वाचनसम्म गठबन्धन हुने बताउनु भएको हो।
मन्त्री कार्कीले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दल मिलेर जाने कुरामा विमति नरहेको बताउनुभयो। ‘गठबन्धन कायम रहन्छ साथै अन्य दलसँग पनि सहकार्यका लागि छलफल हुनेछ’, मन्त्री कार्कीले बताउनुभयो।
मन्त्री कार्कीले पार्टी विधि र अनुशासनबाट संचालित रहेको बताउदै सबैले त्यसको पालना गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री कार्कीले मन्त्रिमण्डल विस्तारको विषयमा आफूलाई जानकारी नरहेको बताउनुभएको छ।
नेपाल र नेपाली हितका लागि चिनियाँ सरकारको सधैं सहयोग रहेको भन्दै छिमेकी राष्ट्रसँगको सम्बन्धमा सरकार गम्भीर रहेको बताउनुभएको छ। सुनसरीको लौकहीमा चैत १२ गते आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री कार्की शुक्रबार मोरङ आउनुभएको हो।