logo
२०८१ बैशाख ८ शनिवार



आउँदै गरेको चुनाब हाम्रो लागि लडाइँ हो : अध्यक्ष प्रचण्ड

मुख्य समाचार |
प्रदेश |


आउँदै गरेको चुनाब हाम्रो लागि लडाइँ हो : अध्यक्ष प्रचण्ड


नरेन्द्र ढकाल
गोरखा, चैत १२ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदै गरेको निर्वाचन आफ्नो पार्टीका लागि लडाइँ भएको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका प्रशासकीय भवनको उदघाटन गर्दै शनिवार उहाँले सो कुरा बताउनुभयो ।

निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । ‘अरुको लागि आउँदैगरेको निर्वाचन सामान्य निर्वाचनजस्तै होला, तर माओवादी केन्द्रका लागि यो निर्वाचन होइन, योे त हाम्रा महान सहिद, बेपत्ता योद्धाहरु, घाइते, अपाङगता भएका लाखौंलाख जनताका सपनाहरु सफल पार्ने लडाइँ हो’ उहाँले भन्नुभयो । माओवादीले हारे गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता सबै चिजको हार हुने उहाँले चर्चा गर्नुभयो ।

अहिले देशीविदेशी तत्व सबै गठबन्धन टुटाउन र माओवादीलाई चुनाबबाट हराउन लागेको उहाँले टिप्पणी गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले भन्नुभयो, ‘अस्तिको एमसीसीलाई देखाएर गठबन्धन भत्काउने, अर्को प्रतिक्रियाबादी गठबन्धन बनाउने, एमाले र काँग्रेसको गठबन्धन गर्ने र माओवादीलाई देशभरीबाट बढार्ने सोचेका थिए । तर हामीले त्यो हुन दिएनौं,’ उहाँले भन्नुभयो ।

अहिलेको खतरा टरेपनि पुरै खतरा नटरेको उहाँको भनाई छ । माओवादी जनयुद्ध र जनआन्दोलनले ल्याएको परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको उहाँको दावी छ । ‘अहिले पनि गठबन्धन टुटाउने र संबिधान उल्ट्याउने खेल रोकिएको छैन’ उहाँले भन्नुभयो, ‘१२ बुँदे भनेको टेक्ने ठाउँ हो, भोली त्यहाँ टेकेर लडाइँ लड्न पाइन्छ । कोही डराउनु पर्ने केही छैन ।’

माओवादीले गोरखाबाटै जनयुद्ध सुरु गरेको र अब फेरि दोस्रो लडाइँ पनि छिट्टै सुरु गर्ने उहाँको भनाई छ । अहिलेको व्यवस्था माओवादीले ल्याएको उहाँले दावी गर्नुभयो । ‘हामीले फेरि हतियार उठाउने कुरा गरेका छैनौं कलरफुल रिभुलुसन अर्थात रङिन क्रान्ती गर्ने भनेका हौं । देशभरबाट जनता सडकमा आउने हो भने हामीलाई कसैले रोक्न सक्दैन ।’

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अहिलेको समयमा अग्रगमनकारी दलहरु मिलेर अघि बढ्नुको बिकल्प नभएको बताउनुभयो । २०७५ फागुन १४ गते शिलान्यास भएको बारपाक सुलिकोट गाउँपालिका ४ करोड ९३ लाख रुपियाँमा निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको लगानीमा सुबिधा सम्पन्न कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?