काठमाडौं, चैत १३ गते। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले स्थानीय तहको चुनावी घोषणापत्रको मस्यौदामाथि थप सुझाव संकलन गर्ने निर्णय गरेको। आइतबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
त्यसैगरी बैठकले प्रतिवद्धता–पत्र तयारीका लागि भर्चुअल बैठक गर्ने निर्णयसमेत गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो। यस अघि पार्टीको केन्द्रीय कमिटीले गरेका ११ निर्णयमध्ये प्रतिबद्धता–पत्र तयारी सम्बन्धमा भर्चुअल बैठक गर्ने निर्णय गरेको थियो। भर्चुअल बैठकमा प्रदेश तथा जिल्ला, पालिकाका प्रमुख, उपप्रमुख, मस्यौदा समितिका तोकिएका विज्ञ, परराष्ट्र र कानुनी मामिलाका सदस्य सहभागी हुनुहुने उहाँको भनाइ छ। भर्चुअल बैठकमा अध्यक्ष केपी शर्मा ओलीले धारणा राख्नुभएपछि प्रतिवद्धता–पत्रको पहिलो मस्यौदा तयार हुने गुरुङले प्रष्ट पार्नुभयो।
चुनावी घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यले चैत २० गतेसम्म लिखित सुझाव दिने र घोषणापत्रको अन्तिम रुप दिने निर्णय गरिएको गुरुङले जानकारी दिनुभयो। यससँगै आर्थिक विनियममा पनि सुझाव दिने निर्णय भएको छ।
स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनु सरकारको दायित्व भएको र यसका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने विषयमा एमालेको बैठकमा छलफल भएको छ। निर्वाचनलाई प्रभावित गर्ने कुनै पनि काम कारबाही सरकारले गर्न नहुने नेताहरुले बताउनुभएको छ।
बैठकमा निर्वाचन आयोगले राजनीतिक दलसँग कुनै परामर्श नगरी मतपत्रको रंग हरियो बनाउनु अनुचित भएको विषय छलफलमा भएको छ। यसबाहेक एमालेले चुनावी घोषणापत्रमाथि आवश्यक सुझाव पार्टीको इमेलमा पठाउन सबैलाई आग्रह गरिएको छ।