logo
२०८१ बैशाख १२ बुधवार



वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्छ : राष्ट्रपति भण्डारी

मुख्य समाचार |
प्रदेश |


वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्छ : राष्ट्रपति भण्डारी


केदार तिमल्सिना
बनेपा, चैत १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहका प्रतिनिधि तथा सम्बद्ध सबै पक्षले विकाससम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । काभ्रेको नमोबुद्धु नगरपालिका–५ मा पुनःनिर्माण भएको कालीदेवी मन्दिरको उदघाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवम् सरसफाईजस्ता आधारभूत सेवा सरल र सहज रूपमा उपलब्ध गराउने विषय गम्भीर हुनुपर्ने बताउनुभयो ।

विनाशकारी भुकम्पले भत्काएका सम्पदाहरू अझ बलियो र स्थायी रूपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास बलियो भएको उहाँले बताउनुभयो । स्थानीय तहमा जनताले छानेका प्रतिनिधिबाट जनताको आवश्यकताको सम्बोधन हुनु लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम रहेको बताउनुभयो । संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिक रूपान्तरण हासिल गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको उहाँले चर्चा गर्नुभयो ।

‘स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा हामीले प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कामलाई विशेष महत्व दिनुपर्छ’ राष्ट्रपति भण्डारीले भन्नुभयो– ‘हरियाली प्रवद्र्धन गर्ने, पानीका मूल बचाउने एवम् जैविक विविधताको रक्षा गर्ने कामबाट मात्र हामीले सुन्दर धर्तीलाई भावीपुस्ताका लागि समेत सुरक्षित बनाउन सक्दछौं ।’

नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवम् सरसफाईजस्ता आधारभूत सेवा सरल र रहज रूपमा उपलब्ध गराउने विषय सबैको गम्भीर सरोकारको विषय बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले नमोबुद्ध नगरपालिका नजिक रहेको राजधानी काठमाडौँ तथा नजिकको धुलिखेललाई गन्तव्य बनाउने पर्यटकको केही संख्यालाई नमोबुद्ध नगरपालिकामा भित्र्याउन सकेमा स्थानीय समुदायको जीवनस्तरमाथि उठाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य भवन, वडा कार्यालयका साथै जनताका आधारभूत आवश्यकताका काम अघि बढेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?