विराटनगर समाचारदाता
विराटनगर, चैत १९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनहरूलाई सबैले उत्सवका रूपमा लिएर सहभागी हुनुपर्ने बताउनुभएको छ । विराटनगरमा शुक्रबार साँझ तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले आगामी तीनै तहको निर्वाचन सबै सहभागी भएको, निष्पक्ष र धाँधलिरहित ढङ्गले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । लोकतन्त्रको जगको रूपमा रहेको आवधिक निर्वाचनलाई सबैले उत्सवको रूपमा लिएर सफल बनाउनुपर्ने उहाँको भनाइ थियो ।
जनताको सङ्घर्षबाट राजनीतिक उपलब्धिहरू प्राप्त भए पनि जनताको जीवनस्तरमा परिवर्तन नआइसकेको भन्दै उहाँले राज्यले साधन स्रोत प्रयोग गरेर आगामी १० वर्षभित्र देशलाई दक्षिण एसियाको धनी बनाउने गरी वर्तमान पुस्ता अगाडि बढ्नुपर्ने बताउनुभयो । मन्त्री कार्कीले सञ्चारग्राम भावना मात्र नभई खोज र अनुसन्धानको महìवपूर्ण केन्द्रसमेत रहेको बताउनुभयो । ‘‘सञ्चारग्राम भावना मात्र होइन अध्ययन, अनुसन्धान अन्तक्रिया र गतिविधिका लागि महत्त्वपूर्ण छ,’’ उहाँले भन्नुभयो– ‘‘खोज अनुसन्धान र मिडिया उन्नयनका लागि भइरहेको ठाउँको अभाव यो सञ्चारग्रामले पूरा गरेको छ ।’’
लामो पहल र प्रयत्नपछि प्रदेश १ मा निर्माण भएको सञ्चारग्राम उद्देश्य अनुरूप सञ्चालन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराएकै कारण सञ्चारग्राम बन्ने वातावरण बनेको भन्दै उहाँले आगामी दिनमा पनि महानगरको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । रेडियो नेपालको रेडियो प्रसार सेवा विकास समितिअन्तर्गत रहेको तारिणीप्रसाद कोइराला सञ्चारग्रामबाट शुक्रबारदेखि विराटनगर महानगरपालिकाले महानगर एफएम सञ्चालन आरम्भ गरेको छ ।
मन्त्री कार्कीले महानगर एफएमको समेत उद्घाटन गर्नुभयो । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सञ्चारग्राम बन्नु मात्र ठूलो कुरा नभएको बरु उद्देश्य अनुरूप अगाडि बढ्न महत्त्वपूर्ण हुने बताउनुभयो ।
पूर्व सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले परिवर्तनको आन्दोलनमा बहुप्रतिभाशाली व्यक्तित्व तारिणीप्रसाद कोइरालाको स्मृतिमा सञ्चारग्राम निर्माण भएकोमा खुसी व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राई, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, अमृत अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।