काठमाडौं, चैत २० गते । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिने भ्रमण पश्चात् आइतबार साँझ काठमाडौं आइपुग्नुभएको छ । आज अपरान्ह भारतको धार्मिक नगरी वराणसी पुग्नुभएको प्रधानमन्त्री देउवाको टोली नयाँ दिल्ली हुँदै काठमाडौं आइपुग्नुभएको हो । उहाँलाइ विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँड लगायतका पदाधिकारीले स्वागत गर्नु भएकाे थियाे
प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा देउवासहितको नेपाली प्रतिनिधि मण्डल चैत १८ गते शुक्रबार औपचारिक भ्रमणका लागि भारत जानुभएको थियो । चैत १९ गते शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग उहाँले भेट गर्नुभयो भने नेपालका तर्फबाट मोदीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिइएको छ ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत सहभागी हुनुभएको थियो ।
यसैबीच परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने औपचारिक भारत भ्रमणको क्रममा दुई देशबीच सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ गर्ने विषयमा विचार आदानप्रदान भएको बताउनुभएको छ ।
आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री देउवा र भारतका समकक्षी नरेन्द्र मोदीबीच प्रधानमन्त्रीमण्डल स्तरमा भेटवार्ता भएको जानकारी दिनुभयो ।
स्वास्थ तथा शिक्षा क्षेत्रमा सहयोग, ऊर्जा एवम् ट्रान्स्मिसन लाइनका विषयमा छलफल भएको उहाँको भनाइ छ । यश लगायत पुल निर्माण तथा एकीकृत चेकजाँच चौकी, सीमापार ट्रान्समिसन लाइन, रेल सवा, पूर्वाधार निर्माण, द्विपक्षीय व्यापार विस्तार, रासायनिक मल उपलब्ध गराउने विषयमा छलफल भयो, परराष्ट्रमन्त्री खड्काले बताउनुभयो ।
भारतका प्रधानमन्त्री मोदीले नेपालीको प्रस्तावमा सधैं सकारात्मकरुपमा अगाडि बढ्ने बताउनुभएको पनि उहाँले भन्नुभयो ।