logo
२०८१ बैशाख २३ आईतवार

  ‘कार्यविधि बनाएर काम सुरु गर्छौँ’  



पौडेल नेतृत्वको निर्वाचन तयारी समितिको पहिलो बैठक बुधबार

मुख्य समाचार |
राजनीति |


पौडेल नेतृत्वको निर्वाचन तयारी समितिको पहिलो बैठक बुधबार
फाइल तस्बिर


काठमाडौं, चैत २२ गते। सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले काँग्रेस वरिष्ठ नेता पौडेल नेतृत्वमा काँग्रेस महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित गठबन्धनमा सहभागी दलका शीर्ष १० नेता सहभागी समिति बनाएको हो।

समितिमा नेकपा (माओवादी केन्द्र)बाट नेता देव गुरुङ र वर्षमान पुन सदस्य हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी)बाट महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल सदस्य हुनुहुन्छ। त्यसैगरी समितिमा जनता समाजवादी पार्टी (जसपा)बाट अशोक राई, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र र जनमोर्चाबाट हिमलाल पुरी सदस्य हुनुहुन्छ।

पहिलो बैठक बुधबार
समिति संयोजक रामचन्द्र पौडेलका अनुसार निर्वाचन तयारी तथा अनुगमन समितिको पहिलो बैठक बुधबार बस्नेछ। बुधबार बस्ने बैठकले कार्यविधि बनाएर काम सुरु गर्ने उहाँको भनाइ छ। ‘आज बालुवाटारमा बसेको गठबन्धन बैठकले समिति बनाएको हो’, पौडेलले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘बुधबार पहिलो बैठक बसेर सबैभन्दा पहिला कार्यविधि बनाउँछौँ। कार्यविधि बनेपछि काम सुरु हुन्छ।’

सत्तारुढ गठबन्धनले समितिलाई वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा हुने गठबन्धन र दलको तालमेलको विषयमा अनुगमन गर्ने जिम्मेवारी दिएको उहाँको भनाइ छ। निर्वाचन तयारी र अनुगमन दुवै काम समितिले गर्ने उहाँले प्रष्ट पार्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?