सन्तोष सुवेदी
कास्की, चैत २५ गते । ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ.... ।’ यस बोलको गीत वा फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने पोस्टकार्ड र तस्बिरबाट फेवाताल चिन्नेका लागि अब ती पहिचान मात्र पर्याप्त हुँदैनन् ।
फेवातालको सौन्दर्यभन्दा अर्को पहिचान पनि थपिएको छ । पहिलेका पहिचान देशका लागि नै मूल्यवान् भए पनि बेलैमा सजग नभए पछिल्लो पहिचानको मूल्य भने देशले चुकाउनुपर्ने देखिएको छ । पछिल्लो पहिचान दिने दृश्य हेर्न फेवाताल थुन्न बाँध बाँधिएको स्थान फेवातालको पुछारमा जानुपर्छ ।
यो त्यही स्थान हो जहाँ माछापुच्छ्रेको छायाँ पर्ने गर्दछ तर प्रदूषणले गर्दा कञ्चन फेवाताल र माछापुच्छ्रेको छायाँ देख्न अचेल मुस्किल पर्छ ।
माछापुच्छ्रेको छायाँ तैरिने पानीमा अचेल थोत्रा जुत्ताचप्पल, प्लास्टिकका बोतल र थुप्रै खाले फोहोर तैरिन्छन् । तालको त्यस भागमा एउटा नाली आएर मिसिएको छ । त्यसैले ती फोहोर सिधै तालमा ल्याएर मिसाउँछ । यस्तो फोहोर ल्याउने काम त्यो नालाबाट मात्रै सीमित छैन । वाराहीघाट, गौरीघाट, फेवाघाट, पहारीघाटलगायत धेरै ठाउँमा त्यसरी नै सहरको नाला सिधै फेवातालमा सोझिएको छ ।
ती नालीले सधैँ प्लास्टिकजन्य फोहोर ल्याउँछन् र ताललाई फोहोर पार्छन् । कहिलेकाहीँ त मरेका जीवजन्तु पनि तिनै नालामा बगेर तालमा आइपुग्छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेल तालमा सोझिएका नालासँगै फिर्के र बुलौँदी खोलाले पनि फेवालाई प्रदूषित बनाइरहेको बताउनुहुन्छ । उहाँका अनुसार फिर्के र बुलौँदी खोलामा पनि सहरका नाला मिसिएका छन् । त्यसैले ती खोलामार्फत पनि तालमा फोहोर पुग्ने उहाँको भनाइ छ ।
फेवाताल पोखराको मात्र नभएर नेपालकै सम्पदा भएकाले जोगाउन आवश्यक भएको पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पर्यटक आवतजावत गर्ने स्थानमा लुगा धुने, जताततै फोहोर हुँदा पर्यटकलाई त्यसको नकारात्मक असर पर्न जान्छ । महानगरले यो विषयमा चनाखो भई काम कारबाही अगाडि बढाउनुपर्छ ।” ताल क्षेत्रलाई सफा राख्ने भन्दै सो क्षेत्रमा फोहोरदानीको समेत व्यवस्था भए पनि त्यहाँका होटेल रेस्टुरेन्टको लापरबाहीका कारण फोहोर नियन्त्रण हुन नसकेको उहाँले बताउनुभयो ।
रेस्टुरेन्टको जथाभावी
फेवातालको किनारमा निर्मित पैदलमार्गलाई स्थानीय रेस्टुरेन्टले जथाभावी प्रयोग गरिदिँदा पैदयात्रीलाई असहज बनाएको त छ नै त्यसले फोहोर पनि उत्तिकै बढाएको छ । व्यवसायीका लागि फेवाताल आम्दानीको स्रोत भए पनि सफा र सुन्दर बनाउने विषयमा कसैको ध्यान नपुगेको पोखरा महानगर वडा नं. ६ का अध्यक्ष जगतबहादुर पहारी बताउनुहुन्छ । व्यवसायीले लापरबाही गरी कुर्सी, टेबुल बाहिर राखिदिँदा नराम्रो असर पर्न गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पटक–पटकभन्दा पनि व्यवसायीले अटेरी गर्नुभएको छ । कानुनले बर्जित गरेका ठाउँमा अस्थायी रूपले व्यवसाय गर्न पाइँदैन ।”
तत्कालीन पोखरा उपमहानगरपालिकाले वातावरण स्वच्छ बनाउने भनेर एसियाली विकास बैङ्कको सहयोगमा वातावरण सुधार आयोजनाअन्तर्गत सडक किनारामा नाला निर्माण गरेको थियो तर तिनै नालाले फेवा प्रदूषित बनाइरहेका छन् । त्यो नालामा अरू फोहोर मात्रै होइन मानव मलमूत्र पनि बगेर आउने गरेको छ । नगरपालिकाले गरेका अनुगमनका क्रममा नालामा घर तथा होटल रेस्टुरेन्टबाट मलमूत्र बगाइएको थुप्रै पटक फेला परेका उदाहरण छन् ।
मूल स्रोतमै समस्या
फेवाताल प्रदूषण हुनुका कारण सहरका नाला मात्रै होइनन्, यसको पानीको मूल स्रोत पनि हो । फेवाको पानीको मूल स्रोत हर्पन खोला हो । हर्पनले पानीसँगै ढुङ्गा, माटो र गेग्य्रान बगाउँदै ल्याएर थुप्रै टापु बनाएर ताललाई साँघुरो बनाएको छ । पानीसँगै हर्पनले बेलाबखत फोहोर पनि बगाउँदै ल्याएर तालमा मिसाउँछ । पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी केही वर्ष व्यवसायीले सिधै ढलको पानी तालमा मिसाए पनि अहिले त्यस्तो अवस्था नरहेको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “ढलको पानी तालमा मिसिएको छैन । वडावडाबाट अनुमगन हुने भएकाले त्यो विषयमा व्यवसायी सचेत भएका छन् ।” उहाँले फेवाताल सुन्दर देखाउन र बचाउन बर्सेनि होटेल सङ्घले फेवा महोत्सव गर्दै आएको जानकारी दिनुभयो ।
विभिन्न सङ्घ, संस्थाले बेलाबखत फेवाको सरसफाइ पनि गर्छन् । तीमध्येको एक पहिलो पाइला नेपाल पोखरा शाखाका अध्यक्ष रञ्जित दनैले एक साताअघि ताल सफा गरी झन्डै ५० बोरा फोहोर सङ्कलन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ताल सरसफाइको नाममा दर्ता भएका विभिन्न संस्थाले गर्नुपर्ने थियो तर देखे नदेखेझैं गरी हिँड्ने गरेका छन् ।” उहाँले दुई वर्षदेखि केही संस्थासँग मिलेर फेवा सफाइ गर्दै आएको भन्दै पोखरा महानगरलाई पत्रसमेत पठाएकोमा वास्ता नगरेको र उठाएको फोहोर लिन गाडी पनि नपठाएको आरोप लगाउनुभयो ।
पोखरा महानगर सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले भने टोल, आमा समूह, नागरिक समाज मिलेर समय–समयमा ताल सफाइ भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले निरन्तर रूपमा ताल सफाइमा लागिपरेका छौँ ।” तालै छेउमा लुगा धुने, कुकुरलाई दिसा गराउन लैजाने प्रवृत्तिलाई रोक्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।