logo
२०८१ बैशाख ८ शनिवार



सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन सकियो

मुख्य समाचार |
राजनीति |


सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन सकियो
फाइल तस्बिर


धनगढी, चैत २५ गते। सुदूरपश्चिम प्रदेशसभाको नवौं अर्थात् हिउँदे अधिवेशन अन्त्य भएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको हो। प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखले पठाउनु भएको पत्र सभामुख अर्जुनबहादुर थापाले पढेर सदनलाई सुनाउनुभयो।

प्रदेश सभाको हिउँदे अधिवेशन चैत १३ गतेबाट सुरु भएको थियो। यो अधिवेशनमा जम्मा पाँच वटा बैठक बसेको सभामुख थापाले जानकारी दिनुभयो। कानुन बनाउने अधिवेशनको रुपमा लिइने गरेको हिउँदे अधिवेशनमा जम्मा दुई वटा विधेयक पारित गरिएको छ।

हिउँदे अधिवेशनले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ संशोधन गर्न बनेको विधेयक र दलित सशक्तिकरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको सभामुख थापाले जानकारी दिनुभयो।

शुक्रबार बसेको हिउँदे अधिवेशनको अन्तिम बैठकले दलित सशक्तिकरण सम्बन्धी विधेयकलाई पारित गरेको हो। सो विधेयकलाई सदनबाट पारित गरियोस् भनेर सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदले प्रस्ताव पेश गर्नुभएको थियो।

अधिवेशन अवधिभर शून्य र विशेष समयमा प्रदेश सभामा उठेका प्रश्नको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले जवाफ दिनुभएको थियो। उहाँले खास गरेर प्रदेशले भोगेको प्राकृतिक विपद्को क्रममा छिटोभन्दा छिटो खोज उद्धारको काम गरेको बताउनुभयो।

मन्त्री जोशीले प्राकृतिक विपद्मा परेर प्रदेशभर ७९ जनाले ज्यान गुमाएको र प्रति मृतक एक लाख रुपियाँका दरले हरेक जिल्लामा राहत रकम पठाइएको बताउनुभयो। संघ र सरकारको तालमेल नमिल्दा राहत रकम वितरणमा ढिलाई भएको मन्त्री जोशीले स्वीकार गर्नुभयो।

‘हामीसँग केही छैन। सबै काम सङ्घ मातहत रहेको जिल्ला प्रशासन कार्यालयमार्फत् गराउनु पर्ने बाध्यता छ’, उहाँले थप्नुभयो, ‘तर, हाम्रा कानुनसमेत जिल्ला प्रशासन कार्यालयले मानेनन्।’

यसैगरी, बैठकमा विशेष समय लिएर बोल्नुहुँदै आर्थिक मामिला तथा योजनामन्त्री तारा लामाले सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक रुपमा अनुशासन कायम गरेको बताउनुभयो। ‘हामीले धेरै काम गर्न नसकेको यथार्थ हुनसक्छ। तर, हाम्रो सूचकाङ्क अरु प्रदेशको तुलनामा खराब छैन’, उहाँले भन्नुभयो, ‘मुख्य कुरा प्रदेश सरकारले आर्थिक सुशासन कायम गरेको छ।’

उहाँले प्रदेशका युवालाई रोजगारी प्रदानका लागि स्थापना भएको स्वरोजगार सञ्चालन गर्न कार्यकारी निर्देशक नियुक्त गरिसकेको जानकारी दिनुभयो। प्रदेश सभाको बैठकमा शून्य समय लिएर बोल्नुहुँदै प्रदेश सभा सदस्यले प्रदेशमा शान्ति, सुरक्षा कायम, महंगी नियन्त्रण गर्नुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

प्रदेश सरकारका पदाधिकारीले सदनलाई गम्भीरतापूर्वक नलिएको र काम गर्न नसकेको उहाँहरुको आरोप थियो। शून्य समयमा प्रदेशसभा सदस्य कुन्ती जोशी, महेशदत्त जोशी, कर्णबहादुर मल्ल र रतन थापाले बोल्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?