logo
२०८१ बैशाख २२ शनिवार



धनगढीमा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण

मुख्य समाचार |
राजनीति |


धनगढीमा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
धनगढी उपमहानगर–९ का भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा दिनुहुँदै काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा। तस्बिर : प्रकाशविक्रम शाह


प्रकाशविक्रम शाह
धनगढी, चैत २५ गते। सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा भूमिहीन दलित परिवारलाई जग्गाधनी प्रमाण–पूर्जा दिन सुरु गरिएको छ। शुक्रबार काँग्रेस केन्द्रीय सदस्य तथा प्रथम महिला डा. आरजु राणा देउवाले धनगढी उपमहानगरपालिका–९ का २२ दलित परिवारलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्नुभएको हो।

कार्यक्रममा संविधानको मौलिक हक अन्तर्गत कोही पनि जग्गाबिहीन नहुन भन्ने व्यवस्था अनुरुप सरकारले भूमिहीनलाई जग्गा दिइएको नेतृ देउवाले बताउनुभयो। ‘यसअघि तीन वर्षसम्म सरकार चलाएको एमालेले जग्गा दिन सकेन’, उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको नेतृत्वको पाँच दलीय गठबन्धन आउने बित्तिकै तीन महिनामै भूमी आयोग बनाएर जग्गा वितरण गर्न थालिएको छ।’

नेतृ डा. देउवाले जग्गा वितरण गरेर संविधान कार्यान्वयन गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको चर्चा गर्नुभयो। उहाँले जग्गाधनी प्रमाण–पूर्जा पाउने अधिकांश महिला भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले जग्गाधनी प्रमाण–पूर्जा दिएर वर्षकै राम्रो काम गर्न पाएको भन्दै आफूलाई भाग्यमानी ठानेको पनि बताउनुभयो।

सो अवसरमा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफ्नो चुनावी घोषणा–पत्र अनुसार जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको बताउनुभयो। जग्गाधनी प्रमाण पूर्जा वितरणको काम १९ वटै वडामा निरन्तर सञ्चालन हुने उहाँको भनाइ छ।

उहाँले कतिपय वडाको नापजाँच जारी रहेको र कतिपयको जग्गाधनी प्रमाण पूर्जा बनिरहेको बताउनुभयो। 'हाम्रा ससुराका पालादेखि यो जग्गा भोगचल गरिरहेका थियौ, बल्ल ७० वर्षपछि जग्गाधनी प्रमाण पूर्जा पायौं। हाम्रो लागि यही खुसीको कुरा हो’, स्थानीय वसन्ती पार्कीले भन्नुभयो।

जग्गाधनी प्रमाण पूर्जा पाउनेमा ७० वर्षीया भागीरथी नेपाली पनि हुनुहुन्छ। उहाँले आफैले भोगचलन गरेको १६ धुर जग्गाको प्रमाण पूर्जा पाउनु भएको हो। शुक्रबार २२ परिवारलाई उनीहरुले भोगचलन गर्दै आएको १६ धुरदेखि छ कट्टासम्मको जग्गाधनी प्रमाण–पूर्जा दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?