logo
२०८१ बैशाख २२ शनिवार



भरतपुरलाई शिक्षण अस्पतालको रुपमा विकासको पहल गर्छु : प्रचण्ड

मुख्य समाचार |
राजनीति |


भरतपुरलाई शिक्षण अस्पतालको रुपमा विकासको पहल गर्छु : प्रचण्ड
भरतपुर अस्पतालको ५९ औं वार्षिक उत्सवमा मन्तव्य राख्नुहुँदै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। शालिग्राम नेपाल


शालिग्राम नेपाल
चितवन, चैत २५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न पहल गर्ने बताउनुभएको छ ।

भरतपुर अस्पतालको ५९ औं वार्षिक उत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले उपचारमा हुने सबै सेवा प्राप्त गर्नेगरी अस्पतालको विकास गरिने जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीले डडेलधुरामा शिक्षण अस्पताल बनाउने तयारी गर्नुभएको मैले भर्खरै जानकारी पाएको छु । अब पालो भरतपुर अस्पतालको हो’ प्रचण्डले भन्नुभयो, ‘मैले भनेपछि शेरबहादुरजीले नमान्ने कुरा हुँदैन, अब भरतपुर अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन हुनेछ । ’

कार्यक्रममा बागमती प्रदेश सांसद तथा अस्पताल विकास समितिका पूर्वअध्यक्ष विजय सुवेदीले केन्द्रीय अस्पताल भए पनि पाउनु पर्ने सेवा लिन ज्यादै कठिन हुने गरेको बताउनुभयो । राज्यले केन्द्रीय अस्पताल घोषणा गरेको तर, यस संस्थाले पाउनु पर्ने सुविधा लिन रोइकराई गरेर मन्त्रालय धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालको थप विकासमा महानगरपालिकाले आउदो आर्थिक वर्षमा बजेट विनियोजन गर्ने जानकारी दिनुभयो । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले चितवनसहित २० जिल्ला भन्दा धेरै स्थानबाट यहाँ उपचार गर्न आउने बिरामीलाई सेवा दिन भइराखेको जनशक्तिले नसकेको बताउनुभयो । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, नेपाली काँग्रेसका जिल्ला उपसभापति राजिव न्यौपाने, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष कृष्णराज न्यौपानले मन्तव्य राख्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?