logo
२०८१ बैशाख २४ सोमवार



सवारी दुर्घटना न्यूनीकरण गर्न आग्रह

मुख्य समाचार |


सवारी दुर्घटना न्यूनीकरण गर्न आग्रह


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २८ गते । गृहमन्त्री बालकृष्ण खाँणले सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सवारी दुर्घटनालाई न्यूनीकरण गर्नैपर्छ । यातायात व्यवसायलाई सुरक्षित र सम्मानित पेसा बनाउनुपर्छ ।”

उहाँले सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्दा चाडपर्वमा बढी दुर्घटना हुने गरेको चर्चा गर्दै भन्नुभयो, “सरकारले उद्योगी, व्यवसायी र लगानीकर्ताको सुरक्षा गर्ने दायित्व गम्भीरतापूर्वक लिएको छ । यात्रुलाई सुरक्षित पु-याउने दायित्व व्यवसायीको हो ।” कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सडक दुर्घटनामा कमी हुन नसकेको बताउँदै भन्नुभयो, “गाडीको अवस्था ठीक नभएका कारण, चालकको लापरबाही र क्षमताभन्दा बढी यात्रु चढाएका कारण दुर्घटना भएका छन् । व्यवसायीबाट नै यस्ता काम रोकिनुपर्छ ।” उहाँले २० वर्ष पुराना गाडी चलाउन दिने वा नदिने भन्नेबारे मन्त्रालयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि वैशाख १ गतेबाट लागू हुने गरी भाडा समायोजन गरिएको र अब पनि ट्याक्सी चालक मिटरमा नगए कारबाही गर्ने चेतावनी दिनुभयो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले आर्थिक समृद्धिका लागि सडक सञ्जालको विकल्प नभएकाले व्यवस्थित र सरल बनाउनुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेगामगरले यातायात व्यवसायी र सरकारको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनभयो । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सार्वजनिक यातायातलाई एकै स्थानबाट नियमन, अनुगमन र व्यवस्थित गर्न यातायात प्राधिकरणको स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?