logo
२०८१ बैशाख २४ सोमवार



बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती

मुख्य समाचार |


बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती



नरेन्द्र ढकाल

गोरखा, चैत २९ गते । आर्थिक समस्या र त्यसमाथि गाउँसम्म सडक सञ्जाल नपुग्दा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमकी उमा गुरुङको उपचारक्रममा यही चैत २४ गते काठमाडौँमा मृत्यु भयो । शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने निर्णय परिवारका सदस्यले गरे । तर, काठमाडौँबाट गाउँमा शव लैजान आफन्तलाई धौ–धौ प-यो ।

हेलिकोप्टर चार्टर गर्न रकम अभाव भएकाले आफन्त सकसमा परेका हुन् । “अन्त्येष्टिका लागि शव गाउँमै लैजाने कुरा भयो । तर, आर्थिक समस्याले हेलिकोप्टर चार्टर गर्न सकिएन,” स्वर्गीय उमाका आफन्त नवीन गुरुङले भन्नुभयो, “आफन्त र काठमाडौँमा बस्ने गोरखालीसँग सहयोग मागेर रकम जुटायौँ ।”

सुरुमा उहाँलाई गोरखाकै सिर्धीबास स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि एक लाख ४० हजार रुपियाँमा हेलिकोप्टर चार्टर गरी उमालाई काठमाडौँ लगिएको थियो । काठमाडौँ पुग्नेबित्तिकै उहाँको मृत्यु भएपछि पुनः एक लाख ६० हजार रुपियाँ जुटाएर शव गाउँ पठाउने बाध्यतामा आफन्त परेका थिए ।

काठमाडौँमा अध्ययनरत आफन्त जोनिशा गुरुङले भन्नुभयो, “हाम्रो दुःख बुझेर धेरैले सहयोग गरिदिनुभयो । आर्थिक सहयोग जुटाएर काकीको शव गाउँ पठाउन सक्यौँ ।” हालसम्म यातायात सञ्जाल नजोडिएको उत्तरी गोरखाका धेरै सर्वसाधारणको अस्पतालै नदेखी मृत्यु हुने गरेको छ । कसैले अस्पताल देख्छन् । तर, ऋणको भारी बोकाएर संसार छाड्छन् । “अस्पताल लगेर कोही बाँच्यो भने पनि ऋण तिर्दैमा जिन्दगी जान्छ,” चुमनुब्रीका पासाङ लामाले भन्नुभयो, “मरियो भने पनि परिवार र आफन्तले सास्ती भोग्नुपर्ने हुन्छ ।”

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले चुमनुब्रीबाट बर्सेनि २५÷३० जना बिरामीलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लैजाने गरिएको बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत बर्सेनि आठ÷दसजना गर्भवती महिलाको पनि उद्धार हुने गरेको छ । उहाँले यो निःशुल्क कार्यक्रमले गर्भवती महिलालाई सुत्केरी गराउन ठूलो सहयोग गरेको बताउनुभयो ।

केही वर्षयता माउन्टेन चाइल्ड नामक गैरसकारी संस्थाले स्वास्थ्य समस्यामा परेकालाई हेलिकोप्टरमार्फत उद्धार गर्ने गरेको थियो । हाल सो संस्था नभएपछि अहिले त्यहाँका स्थानीयवासीलाई झनै समस्या परेको छ । हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लैजानुपरेमा प्रमुख जिल्ला अधिकारीमार्फत उडानका लागि स्वीकृति लिनुपर्ने हुन्छ । गृह मन्त्रालयको स्वीकृतिपछि मात्र हेलिकोप्टरबाट बिरामीलाई लैजान मिल्ने भएकाले यो प्रक्रिया पूरा गर्दागर्दै कतिपय बिरामीको ज्यान गुमिसकेको हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?