logo
२०८१ बैशाख २४ सोमवार



आजदेखि मेलम्ची पुनः सञ्चालन

मुख्य समाचार |


आजदेखि मेलम्ची पुनः सञ्चालन


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २९ गते । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा मङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ । मङ्गलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ ।

असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७ गते देशवासीका नाममा सम्बोधन गर्नुहुँदै बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा समेत मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र काठमाडौँ उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो । क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पानी पुनः सञ्चालन गर्न लागिएको हो । सरकारको लक्ष्यअनुरूप निर्धारित समयमा आयोजना पुनः सञ्चालन गर्न खानेपानी मन्त्रालयले कार्ययोजनासहित काम अघि बढाएको थियो ।

मङ्गलबार आयोजना पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर सुरुङमार्गमार्फत दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइनेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समयसीमाभित्र पानी काठमाडौँ ल्याउने लक्ष्य पूरा गर्न सहयोग गर्ने मन्त्रालयका पदाधिकारी, प्राविधिक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभएको छ ।

लक्ष्यअनुरूप काम सम्पन्न
मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र सञ्चालन गर्ने सरकारको लक्ष्य पूरा भएको छ । सरकारी लक्ष्य पूरा गर्न मेलम्ची खानेपानी आयोजना विकास समितिले वरिष्ठ इन्जिनियरसहितको टोली आयोजना क्षेत्र अम्बाथानमा परिचालन गरेको थियो । आयोजनाको सफाइ तथा मर्मतको ठेक्का आयोजनाको सुरुङ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको थियो ।

सरकारले तोकेको समयसीमाभित्र काम सम्पन्न गर्न सो कम्पनीले नेपालका तीन सहायक ठेकेदार कम्पनीमार्फत २४सै घण्टा काम गरेको थियो । क्षतिग्रस्त आयोजनाको संरक्षण गरी दीर्घकालीन बनाउन खानेपानी मन्त्रालय तथा दातृनिकाय एसियाली विकास बैङ्कको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?