logo
२०८१ जेष्ठ ६ आईतवार



लोपोन्मुख सहर माछा मासिँदै

पढ्नै पर्ने |


लोपोन्मुख सहर माछा मासिँदै
बल्छीमा परेको माछा व्यापारीसँग किनेपछि फोटो खिच्दै मनहरी बजारका एक उपभोक्ता ।


शिवकुमार काशी,

हेटौँडा, भदौ १६ गते । साउनको अन्तिमबाट नारायणी नदी प्रणालीका सहायक खोलाहरुमा प्रजनन्का लागि पुग्ने सहर माछा मासिन थालेका छन् ।

नारायणी नदीबाट छुट्टिएर मकवानपुर र चितवनको पूर्वी राप्ती र मनहरी खोलामा प्रजनन्का लागि हरेक बर्षको साउन अन्ततिर सहर माछा आउने गर्छ । प्रजनन्का लागि आएका सहर माछा यस क्षेत्रका मानिसहरुले विभिन्न पासोहरु प्रयोग गरी मार्ने गरेको पाइएको छ ।

रैथाने जात भएर पनि यसको वजन धेरै हुने भएकाले सहर माछा मार्नका लागि मानिसहरुले तियारी, बल्छी र करेन्टका पासोहरु प्रयोग गर्ने गरेका छन् । अहिले राप्ती र मनहरी खोलामा प्रशस्तै सहर माछाहरु देखा परेका छन् । मासिक रुपमा झण्डै १ टनभन्दा बढी सहर माछाहरु मारिने गरेको अनुमान रहेको मध्यवर्ती व्यवस्थापन समिति (मध्यवर्ती काउन्सिल) का अध्यक्ष पदमबहादुर तितुङ बताउनुहुन्छ । खाँदा तिख्खर स्वाद हुने र तौल पनि धेरै हुने भएकाले मानिसहरुले सिजनमा सहर माछाको खोजी गर्ने गरेका छन् ।

‘राप्तीखोलामा सुरक्षाकर्मीको आँखा छलेर बल्छी, पासो र तियारी थाप्ने गरिएको पाइन्छ’, अध्यक्ष तितुङ भन्नुहुन्छ–‘सिजनमा आउने माछा मार्नेहरुलाई सरकारको तर्फबाट खासै कडाई भएको पनि पाइँदैन ।’ सहर माछा अहिले मनहरी बजारमै प्रतिकेजी ८ सय रुपियाँमा बिक्री हुने गरेको माछा व्यापारीहरु बताउँछन् ।

सहर माछा निरन्तर बग्ने पानीमा उल्टो धारमा खेल्न चाहने प्रजाति भएकाले साना खोलाका सफा पानीमा आउने गरेको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौँडाका मत्स्य विकास अधिकृत भीम पाण्डे बताउनुहुन्छ । बैशाख–जेठ महिनादेखि नै प्रजनन् सुरु गर्ने सहर माछाको एकै बर्ष तीनपटकसम्म प्रजनन् गर्नेगर्छन् । सोही क्रममा अन्तिम पटक प्रजनन्का लागि राप्ती मनहरी जस्ता द्रुतगतिमा पानी बग्ने खोलाहरुमा सहर माछा प्रजनन्का लागि आउने गरेको पाण्डेको भनाई छ । नारायणी नदी प्रणालीमा भेटिने सहर माछाहरु टर पटिटोरा जातका हुन् । पहेँलो रंग हुने भएकाले यसलाई सुनौला महाशेर पनि भन्ने गरिएको माछाविज्ञ पाण्डे बताउनुहुन्छ ।

यो प्रजातिको माछा नेपालको नारायणी, कर्णाली, कोशी लगायत सबै ठूला नदीहरुमा पाइने भएपनि कोशी र कर्णालीतिर पाइने सहर माछा सेतो रंगको हुनेगर्छ । नारायणी नदी प्रणालीको तादी खोला सहर माछाको उत्पादन हुने प्रमुख केन्द्र रहेको र त्यहाँ उत्पादन भएका भुराहरु नारायणी र त्रिशुली नदीमा हुर्कने गरेको छ ।

सफा र निरन्तर बगिरहने चिसो पानी आवश्यक रहेकाले सहर माछाहरु नारायणी, त्रिशुलीजस्ता नदी प्रणालीका सहायक खोलाहरुमा पुग्ने गरेको माछा विज्ञ पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार सहर माछा दैनिक ३० देखि ४० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती र मनहरी खोलामा जथाभावी माछा मार्ने कार्यलाई निरुत्साहित गरिएको पर्सा राष्ट्रिय निकुन्जका निमित्त प्रमुख शिवनारायण साह बताउनुहुन्छ । माछामा आश्रित परिवारलाई निकुन्जले अनुमतिपत्र नै प्रदान गरेर माछा मार्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

असार, साउन र भदौ महिना माछासहित जीवहरुको प्रजनन् महिना हुने भएकाले देशभर कुनै पनि नदीमा माछा मार्न पाउने वा प्राकृतिक स्रोतको दोहन गर्न नपाइने गरी बन्देज लगाइएको छ । तर, सहर माछाहरु रातारात मारिने क्रम रोकिएको छैन । ‘संकटमा परेका माछाको अवैध शिकारलाई निरुत्साहित गर्न हामी थप सक्रिय हुन्छौ’, निमित्त प्रमुख साहले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?