logo
२०८१ जेष्ठ ४ शुक्रवार

 गोरखापत्रको इतिहासमा नयाँ अध्याय 



क्षेत्रीय कार्यालय उद्घाटन, क्षेत्रीय प्रकाशन शुक्रबारबाट शुरू गरिदै

पढ्नै पर्ने |


क्षेत्रीय कार्यालय उद्घाटन, क्षेत्रीय प्रकाशन शुक्रबारबाट शुरू गरिदै


राम हुमागाईं/नवराज कट्टेल

विराटनगर, असोज २ गते । गोरखापत्रको एक शताब्दीभन्दा लामो यात्रमा पहिलो पटक शुक्रबारबाट औपचारिक रुपमा आफ्नो पूर्व क्षेत्रीय प्रकाशन विराटनगरबाट शुरु गर्दैछ ।

संविधानसभाबाट पहिलो पटक संविधान जारी भएको दिन पारेर गोरखापत्रले असोज ३ गतेबाट सो प्रकाशन शुरु गर्न लागेको हो ।

सोही क्रममा विहीबार आयोजित एक समारोहकाबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पूर्वाञ्चल क्षेत्रीय प्रकाशन कार्यलयको उद्घाटन गर्नुभयो ।

सो उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली पत्रकारिताको इतिहास बोकेको गोरखापत्र संविधान दिवसको दिनदेखि क्षेत्रीय संस्करणको रुपमा प्रकाशन हुनु आफैमा महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–लोेकतन्त्रमा प्रेसको जीवन अनन्त छ, जनताले स्थापित गरेको लोकतन्त्र गोरखापत्रले बचाउनु पर्दछ ।

सरकारले गरेका बहुआयामिक स्वरुपका काम मध्ये विराटनगरको आँगनमा गोरखापत्रको क्षेत्रीय प्रकाशन शुरु हुनु पनि हो भन्दै अगाडि भन्नुभयो–गोरखापत्रको यहाँबाट हुने प्रकाशनले प्रदेश १ र २ का करिव एक करोड नागरिककाबीचमा राष्ट्रको मुखपत्र बनेर व्यथितिका विरुद्ध प्रहार गर्नु पर्दछ ।

उहाँले अब केही महिना भित्रै विराटनगरमा तारणीप्रसाद कोइराला सञ्चारग्राम र फागुन ७ गतेदेखि नेपाल टेलिभिजनको इटहरीबाट क्षेत्रीय प्रशारण शुरु गरिने घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो–समृद्धिको महान अभियानका लागि गोरखापत्र सुत्राधार बन्नु पर्दछ ।

सोही समारोहलाई सम्बोधन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सरकारी सञ्चारमाध्यमलाई तीनवटै तहका सरकारले प्रोत्साहन गर्ने बताउँदै तर सरकारी सञ्चार माध्यमले प्रतिस्पर्धामा भने श्रेष्ठता हासिल गर्नु पर्ने बताउनुभयो ।

उहाँले सरकारका नीतिगत त्रुटी तथा सरकारमा सहभागी व्यक्तिका व्यक्तिगत त्रुटीलाई गोरखापत्रले ढाकछोप नगरी सार्वजनिक गर्न आग्रह गर्नुभयो ।
सोही अवसरमा शुभकामना दिँदै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरबाट गोरखापत्र प्रकाशन हुनु गौरबको विषय भएको उल्लेख गर्दै भन्नुभयो, विराटनगरका लागि यो सम्पत्ती हो ।

उहाँले गोरखापत्रलाई सरकारको मुखपत्र नभइ आम नागरिकले चाहेको परिवर्तनको सम्बाहक हुन सुझाव दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले लोकतन्त्रमा सञ्चारले नागरिकबीच सम्वाद गराउँछ भन्दै सो कार्य गर्ने काम गोरखापत्रले गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले गोरखापत्र विज्ञापन उठाएर नाफा खाने उद्देश्यमात्र बोकेको संस्था नभई नागरिकको सूचना पाउने अधिकारको संरक्षक भएको बताउनुभयो ।

गोरखापत्र शुरुदेखि आजसम्म

  • सुधारवादी श्री ३ देवशम्शेरले साप्ताहिकको रुपमा पहिलो पटक वि. सं. १९५८ सालको वैशाख २४ गते प्रकाशित प्रकाशन प्रारम्भ

  • १९९१ वैशाख ९ देखि प्रत्येक हप्ताको शुक्रबार प्रकाशित

  • पहिलो तस्बिर –वि.सं. १९८४ वैंशाख १३ गते वीरगंजकी १२ वर्षीया सूर्यमति श्रेष्ठले चन्द्रकामधेनु चर्खाद्धारा धागो काटिरहेको

  • पहिलो विशेषाङ्क – वि.सं. १९९८ भदौ १७ उदयाङ्क

  • वि. सं. २००० असोज २९ गतेदेखि सातामा मंगलवार र शुक्रबार गरी दुईपटक प्रकाशन

  • २००३ साल पुस ८ गतेदेखि सातामा तीनपटक प्रकाशन आरम्भ

  • २०१७ फागुन ७ गतेबाट दैनिक प्रकाशन आरम्भ

  • २०१९ असार ९ गतेदेखि शनिवारिय परिशिष्टाङ्कको थालनी

  • २०१९ कात्तिक २ गतेदेखि २०२२ असोज २२ गतेसम्म विहान र साँझ दिनमा दुईपटक प्रकाशन

  • २०४५ भदौ महिनादेखि चारपेज रमाइलो शुक्रबार अतिरिक्त अंक प्रकाशन ।

  • २०५७ सालको वैशाख २४ गतेको प्रकाशनसँगै एकसय वर्ष प्रवेश ।

  • २०७६ साल असोज ३ गतेबाट औपचारिक रुपमा क्षेत्रीय प्रकाशन विराटनगरबाट शुरु गर्दै ।

प्रदेशस्तरीय प्रकाशन कार्यालय विराटनगरबाट छपाई शुभारम्भ कार्यक्रम

(फोटो फिचर)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?