logo
२०८१ मंसिर ८ शनिवार



सांसद साह साधारण तारेखमा रिहा

पढ्नै पर्ने |
प्रदेश |


सांसद साह साधारण तारेखमा रिहा
तस्विर साैजन्यः किशोर साह


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १ गते । जनकपुर विमानस्थलमा तोडफोड घटनामा पक्राउ पर्नुभएका प्रतिनिधिसभा सांसद प्रमोद साह साधारण तारेखमा रिहा हुनुभएको छ । थुनछेक बहसपछि जिल्ला अदालत धनुषाले उहाँलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले सांसद साहलाई केही बेर अघि मुक्त गरिएको जानकारी दिनुभयो । जिल्ला अदालत धनुषाको इजलास नं ३ मा सांसद साह विरुद्धको मुद्दामा थुनछेक बहस भएको थियो । न्यायधिश तेजप्रसाद पौडेलको इजलासले सांसद साह विरुद्धको मुद्दामा साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । जिल्ला अदालत धनुषाले उक्त मुद्दामा सांसद साहलाई कात्तिक छ गते उपस्थित हुन आदेश दिएको छ ।  
सोमबार सांसद साहले जनकपुर विमानस्थलमा विमान उडानमा ढिलाइ भएको भन्नुहुँदै बुद्ध एयरको काउन्टरमा तोडफोड गर्नुभएको थियो । सांसद साहले एकजना बिरामीको अवस्था चिन्ताजनक देखेपछि आफूले आवेगमा आएर काउन्टरमा प्रहार गरेको प्रष्टीकरण दिनुभएको थियो । नागरिक उड्डयन तथा प्राधिकरण कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले सोमबार नै सांसद साहविरुद्ध गैर सैन्य हवाई उड्डयन ऐन, २०१५ को दफा ९ बमोजिम कारबाहीको माग लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिनुभएको थियो । उक्त ऐन बमोजिम सांसद साह दोषी ठहर भए पाँचदेखि दशवर्षसम्म कैद भुक्तान गर्नुपर्नेछ । 

सांसद साह पक्राउ परेपछि राष्ट्रिय जनता पार्टी नेपालले विरोध प्रदर्शन गर्दै रिहाईको मागसहित शनिबार जनकपुरधाम बन्दको आव्हान गरेको थियो । सांसद साह सर्लाही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?