गोकर्ण दयाल
बैतडी, कात्तिक १० गते । डडेल्धुरा स्थित स्याउले ट्राफिक प्रहरीमा एक यात्रुले फोन गरेर गुनासो पोखे –“सर, म बझाङबाट बसमा बिहानै हिँडेको हुँ । दिउँसोको दुई बजीसक्यो । बजारमा धेरै होटल भएको ठाउँमा गाडी रोक्नै मानेन् । एउटा मात्र होटल भएको ठाउँमा गाडी रोकेर खाना खुवाउन गुरुजीले होटल साहुलाई फोन गरिसकेका छन् । निकै भोक लागिसक्यो ।” यात्रुको गुनासो सुन्ने ट्राफिक प्रहरी थिए वीरेन्द्र ऐरी ।
स्याउले ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार तराई –पहाड र काठमाण्डौंका लागि दैनिक तीनसय यातायातका साधन स्याउले भएर ओहोर दोहोर हुुुने गरेका छन् । ती मध्ये ८० वटा रात्रीकालीन बसको संख्या रहेको छ ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला र कैलाली कञ्चनपुरबाट यात्रा गर्ने यात्रुको एउटै गुनासो छ– यात्रुबाहक बसले समयमै खाना खान बस रोक्दैन । बस त्यस्तो ठाउँमा लगेर रोकिन्छ जहाँ, एउटा मात्र होटल हुन्छ । खाना चिसो र गुणस्तरहीन हुन्छ । खाना खान तीन÷चार बसका यात्रु लाईनमा बस्नु पर्छ ।
दार्चुलाबाट मेहेन्द्रनगर जाँदै गरेका यात्रु कैलाश धामीले भन्नुभयो, दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटीबाट छुट्ने रात्री बस बजारमा रोकिदैन । वरिपरि अन्य होटलको विकल्प नभएको सडक छेउको जंगल किनारमा गुरुजीले रोकेकै एक मात्र होटलमा चिसो र गुणस्तरहीन खाना खानु पर्ने बाध्यता छ ।
बैतडी र डडेल्धरामा रहेका यस्ता होटलले गुरुजीको खल्ती गरम गरेर यात्रुलाई ठग्ने गरेको विषयमा सामाजिक सञ्जाल फेसबुकमा समेत गुनासो पढ्न पाईने गरेको दार्चुलाका सञ्चारकर्मी राम धामी बताउनुहुन्छ । दार्चुलाबाट छुट्ने रात्री बसले बैतडीको पाटन नगरपालिकाको निङ्लाडमा रहेको एउटा होटलमा बस रोक्ने गरेको र यात्रु ठग्ने गरेको दार्चुलाबाट यात्रा गर्ने यात्रुहरुले गुनासो गर्ने गरेको धामीले बताउनुभयो ।
दिउँसो भन्दा राती चल्ने यात्रुबाहक बसले सुदूरपश्चिमको तराई, पहाड र काठामाडौंसम्म आवत जावत गर्ने यात्रुलाई एउटा मात्र होटल भएको ठाउँमा खाना खुवाउन गाडी रोक्ने गरेको यात्रुको गुनासो आउने गरेको डडेल्धुरा स्थित स्याउले ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
एउटा मात्रै होटल भएको ठाउँमा बस रोकेर यात्रुलाई खाना खुवाए वापत होटल साहुले गुरुजीलाई निःशुल्क खाना र खल्तीमा पाँचसयदेखि हजार रुपियाँ भत्ता दिने गरेको रहस्य प्रहरीलाई समेत थाहा छ ।
अरुको के कुरा विदामा घर जाँदा प्रहरी समेतले यो समस्या भोग्नु परेको ट्राफिक प्रहरी वीरेन्द्र ऐरीले अनुभव सुनाउनु भयो । ऐरीले भन्नुभयो, होटल एउटा हुन्छ, गाडी भने तीन/चार वटा रोकिएका हुन्छन् । खाना खाने यात्रुसँग राम्ररी बोल्नेसम्म होटल संचालकलाई फुर्सद हुँदैन । बसचालकसँग यात्रु झगडा गर्न र गुनासो पोख्न डराउने गरेका छन् ।
बसवालाले भत्ताकै लागि यस्तो गरिरहेको बैतडी–बझाङको सिमामा रहेको खोड्पे प्रहरी चौकीका ईन्चार्ज रामदत्त भट्टले बताउनुभयो ।
चौकी ईन्चार्ज भट्टले भन्नुभयो, बसवालाहरुले भत्ताकै लोभमा यस्तो कार्य गरिरहेको पाईएको छ । यो कुरा नियन्त्रण गर्न प्रहरीले पनि काहाँ के कस्तो काम गर्नुपर्छ हामी गर्छौ । यातायात समिति र बस धनीले नै सवारी चालकलाई बजार क्षेत्रमा मात्र यात्रुलाई खाना खुवाउने नियम बसाल्नु पर्छ ।
सडक छेउको जंगल किनारमा एउटा मात्र होटल भएको ठाउँमा परिपरि भएका खोकावाला खुद्रा व्यापारिले समेत यात्रुबाट बढी मुल्य लिएर पानी, जुस लगायतका सामग्री महङ्गो मूल्यमा बिक्रि गर्ने गरेका छन् । कतिपयले त्यस्ता होटल र पसल दर्ता नै नगरेर सञ्चालनमा रहेको समेत पाईको छ ।