गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर ९ गते । नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएको छ । रुसको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति महामहिम भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि पठाउनु भएको औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गर्नुभएको हो । त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका प्रधानमन्त्री दिमयित्री मेदभेदेवलाई नेपाल भ्रमणका लागि गर्नु भएको निमन्त्रण पनि हस्तान्तरण गर्नुभएको छ । औपचारिक निमन्त्रणापत्र मन्त्री ज्ञवालीले विदेशमन्त्री लाभ्रोभलाई सोमबार नै हस्तान्तरण गर्नुभयो ।
यस्तै परराष्ट्रमन्त्री ज्ञाउहाँले विदेशमन्त्री लाभ्रोभलाई पनि नेपाल भ्रमणको लागि आमन्त्रित गरेको बताउनुभयो । नेपालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उच्चस्तरीय भ्रमणको चर्चा चल्दैगर्दा यसरी औपचारिक निम्ता पठाइएको हो । दुई देश बीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले आपसी सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहितको उच्च प्रतिनिधिमण्डलले सोमबार रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभसँग भेटवार्ता गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार रुस र सर्वियाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । मन्त्री ज्ञवाली सहितको प्रतिनिधमण्डलले रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ सहितको रुसी प्रतिनिधिमण्डलसँग भेटवार्ता नेपालका लागि निकै फलदायी रहेको उहाँले प्रतिक्रिया दिनुभएको छ ।