logo
२०८१ मंसिर ९ आईतवार

  कमाइका लागि मुग्लान जानुपर्नेकाे पीडा 



२५ वर्ष भयाे, अनुहार चाहुरियाे, आखाँ धमिलिए तर परदेशी फर्किएन

पढ्नै पर्ने |


२५ वर्ष भयाे, अनुहार चाहुरियाे, आखाँ धमिलिए  तर परदेशी फर्किएन


गोकर्ण दयाल

बैतडी, मङ्सिर १३ । रोजगारीका लागि श्रीमान विदेश जाँदा श्रीमतिले अर्कैसँग विवाह गरेर अधिकाशंका घरवार बिग्रेका कथा धेरै सुन्दैआईरहेका छौ, तर बैतडीकी एक जना महिला २५ वर्षदेखि विदेशिएका श्रीमानको प्रतीक्षामा बस्नु भएको छ ।

विवाह गरेको वर्षदिन नपुग्दै २५ वर्षअघि रोजगारीका लागि भारत गएका श्रीमान हिक्मतबहादुर ऐरीले छिट्टै फर्किन्छु , प्रतीक्षा गरेर बस्नु भनेको बचन अझैं कानमा ठोक्किरहन्छ । जसुको कलकलाउँदो बैंश ओईलाएर अनुहारमा चाउरी परिसकेको छ । पतिको बाटो हेर्दै आखाँ धमिला धमिला भईके तर, परदेश गएका पति फर्केका छैनन् ।

रोजगारीका लागि परदेश (भारत) गएका श्रीमान २५ वर्षसम्म घर नफर्केपछि भगवान पुकार्दै जसु भन्नुहुन्छ–‘आधाजुनी बितिसक्यो, प्रिय अब त घर फर्कन ! ’ भगवानले पनि जसुको पुकार नसुनेरै होला ! अहिलेसम्म उनका श्रीमानको न चिठ्ठी पत्र आएको नत कुनै हालखबर नै । १६ वर्षे उमेरमा विवाह हुँदा रिलवाला क्यामेराले खिचेको तस्बिर हेर्दै पतिको बाटो कुर्दै जसु ऐरीका २५ वर्ष बितिसकेका छन् ।

यो कुनै फिल्मको कथा होईन । २५ वर्षदेखि घर नफर्केका पतिको प्रतीक्षा गर्दै बस्नु भएकी बैतडी जिल्लको सिगास गाउँपालिका वडा नम्बर १, की जसु ऐरीको पीडा हो ।

गाउँको बाटो राती कसैले टर्चलाईट बालेर हिँड्दा जसु ऐरी अझैं पनि झरो/टुकी बालेर आँगनको डिलमा गएर हेर्नुहुन्छ । २५ वर्षदेखिको पीडा सुनाउँदै जसु ऐरी भन्नहुन्छ, “ राती कुुकुर भुक्दा पनि झसङ हुन्छु ! भगवानले कतै दुःखीको बचन सुनेर पति फर्किपो हाल्छन् कि ! भनेर आश लागिरहन्छ ।”

जसु ऐरीले श्रीमानको प्रतीक्षा गरेको २५ वर्षमा घरको छानो चुहिएर बार्दलीबाट स्लेट खस्न थालेका छन् । झ्याल ढोका मक्कीईसके । पतिले घर छोड्दा खेत जोत्ने हल गोरु फेरिईसके । दौतरींका छोराछोरी जन्मेर नाति नातिना पनि भईसके । जसुका एउटा पनि सन्तान छैनन् । छ त केवल रोजगारीका लागि विदेश गएका पतिको याद । अनि पतिको प्रतीक्षा गर्दै २५ वर्षदेखि बल्झीएको पीडाको घाउ ।

अब त अति भयो ! भन्दै घर परिवार र माईतिले जसुलाई सुझाव दिन थालेका छन् “ तिम्रो पति बेपत्ता भईसक्यो । अब कुनै आश नगर । ” गाउँलेहले पनि भन्न थालेका छन् “अब तिम्रो जाने ठाउँ कही छैन । श्रीमानको काजकिरिया गरेर एकल महिलाको सूचीमा नाम लेखाऊ ।

यस्ता वचन सुन्दा जसुका आँखाबाट बरर्र आँसु झर्छन् । टिनको बाकसबाट धमिलो एल्बम निकाल्दै ऐरी भन्नुहुन्छ, “ यी हेर्नुस् विवाहमा लगाएको साडी यही हो । श्रीमानको मायाले जन गरेर राखेकी छु । बाकसमा थन्क्याएका लुगा लगाउँनै मन लाग्दैन । मेरो पीडाको घाउ निको पार्ने कुनै ओखती छैन । श्रीमान फर्किने आशमा माईतसमेत गईन । दोश्रो विवाह गर्ने कुरा त सोच्दा पनि सोचिन । सायद म अभागिनी दुःख पाउनकै लागि जन्मेकी हुँ । त्यसैले यी सारा कुरा भोग्दैछु ।”

खेतीपाति गर्नु, वस्तुभाउ स्याहार्नु । मेलापात गर्नु ऐरीको नियमित काम हो । भन्नुहुन्छ “ यो सबै काम नगरे खान पुग्दैन । आफैलाई विधवा महिला कसरी भनौ । पतिको मृत्यु भयो पनि कसरी भनौ । तर, पतिको न सासको ठेगान छ न त लाशको । प्रतीक्षा गर्नु बाहेक मेरो धर्मले अरु के नै गर्न सक्छ र ?

गाउँमा कुनै रोजगारी नहुँदा सिगास गाउँपालिकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या अहिले पनि उत्तिकै छ । कामको लागि भारत जानेहरुसँग पतिको कतै खबर पाईन्छ कि भनेर जसु ऐरी अहिले पनि भारतबाट घर फर्किनेहरुलाई भेट्न जानु हुनुहुन्छ । कतै नभेटिएन र पत्ता नलागेको कुरा सुनेर निराश हुँदै ऐरी घर फर्किने गर्नुहुन्छ ।

सिगास गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गगनसिंह धामीले जसु ऐरीलाई एकल महिला भन्न पनि कानुनी अडचन भएको बाउनुभयो । अध्यक्ष धामीले भन्नुभयो, “महिलाको अवस्था देख्दा निकै दुःख लागेको छ । श्रीमानको मृत्यु दर्ता नहुन्जेल सामाजिक सुरक्षा भत्ता दिन पनि गाह्रो छ ।”

स्थानीय तहको सरकाले आफु जस्ता एकल महिलाका लागि कुनै कार्यक्रम नल्याएको जसु ऐरीले बताउनुभएको छ । हातमुख जोर्न पनि धौधौ परेको पीडा सुनाउँदै जसुले भन्नुभयो, “ मेरो त कुनै सहारा छैन । बाँकी जीवन कसरी बिताउने होला ? लामो सुस्केरा हाल्दै जसु भन्नुहुन्छ–“ गाउँमै सरकार आएको छ भन्छन् ख्वै ! मेरो पीडा कसैले पनि सुनेन !”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?