सीताराम अग्रहरि
मङ्सिर १५ देखि २४ गतेसम्म १३औँ दक्षिण एसियाली खेलकुद (साग) काठमाडौँमा हुँदै छ । नेपालले आफ्नो घरमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता गर्न लागेको यो तेस्रोपटक हो । नेपालमा पहिलोपटक सन् १९८४ र दोस्रोपटक सन् १९९९ मा यो खेल आयोजना गरिएको थियो । यसपटक यो प्रतियोगिता पोखरा र जनकपुर सहरमा पनि हुँदै छ ।
खेल उद्घाटन हुने दिनसम्म पनि सागको तयारी जारी छ । प्रतियोगिता सञ्चालनका लागि तीन अर्ब ६५ करोडको बजेट विनियोजन हुँदा सदाझैँ अर्थ मन्त्रालयको कचकच त बेहोर्नुप¥यो । तर, मन्त्रिपरिषद्ले ‘फास्ट ट्र्याक’बाट सामग्री खरिद गर्ने बाटो खुलाइदिएपछि बजेट परिचालन समस्या रहेन । खर्चको व्यवस्थापन र पारदर्शिताबारे पछि समीक्षा होला नै । खेलस्थल निर्माण, पूर्वाधार तयारीमा भने आयोजक समितिलाई हम्मेहम्मे परेको छ । समुद्रीमार्ग भएर ल्याइने पारापिट ‘एअर कार्गो’बाट मगाइएको छ । नयाँ ‘सिन्थेटिक ट्र्याक’ ओछ्याइएको मैदानमा हरियो घाँस र नयाँ सिटले रङ्गशालाको मुहार फेरिएको छ ।
भारतको कलकत्ताबाट मगाइएको बर्मुडा दुबोले भने दुःख दियो । भारतीय पक्षबाट भन्सारमा चार दिनसम्म यो दुबो रोकिँदा ५० प्रतिशत मरिसकेकाले थप मगाइयो । प्रतियोगिता सफल पार्न सबैले मिहिनेत गरिरहेका छन् । तथापि, एउटा प्रश्न त उठ्छ नै फेब्रुअरी २०१६ मा सागको १२औँ प्रतियोगिताको समापनमा भारतको गुवाहाटीबाट झन्डा बोकेर आएको नेपालले समयमै तयारी किन गर्न सकेन ? त्यसपछि तीनपटक मिति किन सरेको होला ?
दक्षिण एसियाली राष्ट्रबीच खेलकुद प्रतियोगिता होस् भन्ने कुरा पहिलेदेखि उठिरहेको थियो । राजनीतिक रूपमा खेलकुदलाई प्रयोग गर्ने कुरा त्यसबेलाको यथार्थ भए पनि खेलकुदको विकास र विस्तारमा पनि उल्लेखनीय कामका थालनी पनि उतिबेला भएको हो । पहिलेका सबै खराब अहिलेका सबै राम्रा अथवा पहिलेका सबै राम्रो अहिलेका सबै खराब भन्नु उचित हुँदैन । तत्कालीन नेपाल ओलम्पिक कमिटी तथा राखेपका कोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठ भन्नुहुन्छ, ‘साफ गठनमा शरद शाहको योगदान बिर्सन हुन्न ।’ शाहसँग ‘लभ एन्ड हेट’ को सम्बन्ध भएका पूर्वराष्ट्रिय बक्सिङ खेलाडी एवम् प्रथम साफमा रजतपदक विजेता प्रकाशधर तुलाधरको विचारमा त्यो स्वर्णयुग थियो ।
बक्सिङमै दुई–दुईजना विदेशी प्रशिक्षक थिए । पदक पनि आइरहेको थियो । अहिले जो पार्टी नजिक छ, उही प्रशिक्षक हुनेजस्तो परिपाटी देखिएको छ । खेलकुदलाई पञ्चायतको पक्षमा परिचालन गर्ने शाहको कमजोरी भए पनि खेलकुदमा उहाँको योगदान पनि उत्तिकै छ ।
पहिलो साफ: काठमाडौँ
काठमाडौँमा २०४१ साल असोज १ देखि७ गतेसम्म (सन् १९८४) भएको थियो । सहभागी ३७२ मध्ये सर्वाधिक खेलाडी नेपालका (१०५) थिए । यस प्रतियोगितामा एथ्लेटिक्स, बक्सिङ, फुटबल, पौडी र भारत्तोलन पाँच खेल समावेश थिए । नेपाललाई पहिलो स्वर्णपदक बक्सिङ खेलाडी पुष्करध्वज शाहीले दिलाउनुभएको थियो । उहाँले ४८ केजी ‘लाइटफ्लाइवेट’मा श्रीलङ्कका रत्नसूर्यालाई हराउनुभयो । बक्सिङमा अर्काे स्वर्णपदक ६० केजी ‘लाइटवेट’मा दलबहादुर रानामगरले प्राप्त गर्नुभयो । अर्काेतिर वैकुण्ठ मानन्धरले म्याराथन २ घन्टा २६ मिनेट ११ सेकेन्डको समय निकाल्दै नेपाललई म्याराथनमा स्वर्णपदक दिलाउनुभयो । नेपालले अर्काे स्वर्ण फुटबलमा पायो ।
दोस्रो साफ: ढाका
बङ्गलादेशको राजधानी ढाकामा सन् १९८५ (डिसेम्बर २०–२६) मा भएको दोस्रो साफमा नेपालका लागि एकमात्र स्वर्णपदक वैठकुण्ठ मानन्धरले प्राप्त गर्नुभयो । नेपाल पदक तालिकामा पाँचौँ स्थानमा रह्यो । ४७० खेलाडीले छ खेलमा प्रतिस्पर्धा गरेका थिए ।
तेस्रो साफ: कलकत्ता
भारतको कलकत्तामा सन् १९८७ (नोभेम्बर २०–२७) मा तेस्रो साफ प्रतियोगिता भयो । यसमा नेपालको प्रदर्शन दुई कारणले उल्लेखनीय रह्यो । एक वैकुण्ठ मानन्धरले म्याराथनमा तेस्रोपटक नेपाललाई स्वर्णपदक दिलाउनुभयो । वैकुण्ठले दुई घन्टा १५ मिनेट ३ सेकेन्डको समय निकाल्दै दक्षिण एसियाली नयाँ कीर्तिमान बनाउनुभयो । कीर्तिमान आज ३१ वर्षपछि पनि अक्षुण्ण छ । कीर्तिमानपछि तत्कालीन राजा वीरेन्द्रबाट वैकुण्ठलाई भावपूर्ण दर्शनभेट प्राप्त भयो । यो पङ्तिकार गोरखापत्रमा भएको बेला वैकुण्ठले त्यो दर्शनभेटको बडो मर्मस्पर्शी विवरण सुनाउनुभएको थियो । वैकुण्ठको सम्मानमा राजा उभिनुभयो । अप्ठ्यारो मान्दै वैकुण्ठ उभिन खोज्दा राजाले भन्नुभयो– बस वैकुण्ठ ! तिमीले राष्ट्रका लागि यति धेरै गरेका छौ, तिमीलाई के गर्न सक्छु ! यसैगरी मुक्केबाज दलबहादुर रानामगरले स्वर्णपदक प्राप्त गर्नुभएको थियो । यो संस्करणमा जम्मा ८५० खेलाडी १० खेलमा सहभागी भएका थिए ।
चौथो साफ: इस्लामावाद
सन् १९८९ (अक्टोबर २०–२७) मा इस्लामावादमा भएको चौथो साफमा दस खेलमा ८०० खेलाडीले भाग लिए । स्क्वास प्रथमपटक साफमा भित्रियो । नेपालको प्रदर्शन दयनीय रह्यो । वैकुण्ठको प्रदर्शन राम्रो रहेन । बक्सिङ खेलाडी चित्रबहादुर गुरुङले एक स्वर्णपदक प्राप्त गरेर नेपालको लाज जोगाइदिनुभयो ।
पाँचौँ साफ: कोलम्बो
सन् १९९१ (डिसेम्बर २२–३१) मा पाँचौँ साफ भयो । नौ खेलमा ८५० खेलाडीले प्रतिस्पर्धा गरे । एथ्लेटिक्स, बक्सिङमा नेपाल स्वर्ण पदकविहीन भयो । टेबुलटेनिस खेलाडी सिजरिन शाह र गीता क्षेत्रीले स्वर्णपदक प्राप्त गर्नुभयो । सुटिङमा अनिता श्रेष्ठले पनि स्वर्णपदक प्राप्त गर्नुभयो ।
छैटौँ साफ: ढाका
बङ्गलादेशको ढाकामा सन् १९९३ मा छैटौँ साफ आयोजना भयो । यस संस्करणमा ९५० खेलाडीले १२ वटा खेलमा प्रतिस्पर्धा गरेका थिए । नेपालको प्रदर्शन यहाँ पनि बडो दयनीय रह्यो । नेपालले एकमात्र स्वर्णपदक फुटबलमा पायो । त्यो पनि लगभग हारको मुखबाट उत्रेर । यो एउटै जितले नेपालको समग्र निराशाजनक प्रदर्शनलाई बिर्साइदिएको थियो । यस साफमा जुडो पहिलोपटक भित्रियो । स्वर्ण नजिते पनि नेपालीको प्रदर्शन बडो साहसिक रह्यो । टाइम्स अफ इन्डियाले २३ डिसेम्बर १९९३ को डेटलाइनमा जुडोमा चाँडै नै नेपाली ठूलो शक्ति बन्ने भन्दै नेपाली खेलाडीको तारिफमा समाचार नै प्रकाशित ग¥यो । जुडोका चार खेलाडी फाइनलमा र तीनजना सेमिफाइनलमा हार्न पुगका थिए ।
सातौँ साफ: मद्रास
सन् १९९५ (डिसेम्बर १८–२६) मा भएको सातौँ साफमा नेपालले चार स्वर्ण जित्यो । तेस्रो साफपछि निस्तेज एथ्लेटिक्सलाई टीका बोगटीले स्वर्णपदक जितेर पुनर्जीवन दिनुभयो । जुडोमा रमेश बस्नेत, वीरबहादुर राना र जितबहादुर चौधरीले स्वर्णपदक जित्नुभयो । ‘ज्याभलिन थ्रो’ मा खुर्सिद अहमद खाँ चम्किनुभयो । १४ खेल यो संस्करणमा समावेश थिए ।
आठौँ साफ: काठमाडौँ
सन् १९९९ (सेप्टेम्बर २५–अक्टोबर ४) काठमाडौँमा नै भएको आठौँ साफ पदकको हिसाबले ऐतिहासिक रह्यो । तेक्वान्दोमा दीपक विष्टको उदय भयो । बक्सिङमा प्रकाश थापामगर र रामचन्द्र थापामगर दुवै दाजुभाइले स्वर्णपदक जित्नुभयो । तेक्वान्दो र कराँतेमा १४–१४, बक्सिङमा दुई र पौडीमा एक स्वर्णपदक प्राप्त भयो । यो प्रतियोगितामा जम्मा १०६९ खेलाडीले १२ खेलमा भाग लिएका थिए ।
नवौँ साफ: इस्लामावाद
सन् २००२ मा हुनुपर्ने नवौँ साग २००४ मा भयो । यस प्रतियोगितामा नेपाललाई ६ स्वर्णपदक तेक्वान्दो खेलाडीले दिलाए । करातेबाट एक स्वर्णपदक प्राप्त भयो । नवौँ साफमा अफगानिस्तान प्रथमपटक सहभागी भयो ।
दसौँ साग: कोलम्बो
सन् २००६ (अगस्त १८–२८) मा साउथ एसिएन फेडरेसन गेम्स (साफ) साउथ एसियन गेम्स (साग) नामकरण भयो । श्रीलङ्काको राजधानी कोलम्बोमा भएको दसौँ सागमा राजेन्द्र भण्डारीले पाँच हजार मिटर दौड र तीन हजार स्टेपल चेजमा दुई स्वर्ण जित्नुभयो । तर, पछि प्रतिबन्धित औषधि सेवन गरेको प्रमाणित भयो र उहाँको दुवै स्वर्णपदक खोसियो । दीपक विष्ट (तेक्वान्दो) ले गौरवपूर्ण प्रदर्शन गर्दै नेपाललाई स्वर्ण दिलाउनुभयो । तेक्वान्दोकै मनीता शाही, भारत्तोलनमा कमलबहादुर अधिकारी, उसुमा बीना लामा र राजकुमार रसाइली, करातेमा सुलोचना सिजरुवा र कुशल श्रेष्ठले स्वर्णपदक जित्न सफल भए । दीपकले भने तेक्वान्दोमा स्वर्णको ह्याट्रिक गर्नुभयो ।
एघारौँ साग: ढाका
सन् २०१० (जनवरी २९–फेबु्रअरी ९) मा तेस्रोपटक ढाकामा यो प्रतियोगिता आयोजना गरियो । दीपक विष्टले चौथोपटक स्वर्णपदक जित्दै नयाँ इतिहास रच्नुभयो । मार्सल आर्टबाट ६ स्वर्ण पदक प्राप्त भयो । राजेन्द्र भण्डारीले पनि एक स्वर्ण पदक जित्नुभयो ।
बाह्रौँ साग: गुहाटी/सिलोङ
सन् २०१६ (फेब्रुअरी ५–१६) मा भारतको दुई सहर गुहाटी र सिलोङमा १२औँ साग सम्पन्न भयो । यसमा नेपालको प्रदर्शन फिक्का रह्यो । नेपाल पहिलोपटक छैटौँ स्थानमा धकेलियो । तेक्वान्दोमा पहिलोपटक नेपाल पदकविहीन बन्यो । अफगानिस्तान मार्सल आर्टको नयाँ हिरोका रूपमा अगाडि आयो । ताप्लेजुङकी फुपुल्हामु खत्रीले जुडोमा नेपाललाई स्वर्णपदक दिलाउनुभयो । उसुको नान छ्वाङ निमा घर्तीमगरले पनि नेपालको लाज राख्नुभयो । नेपालका लागि तेस्रो स्वर्ण फुटबलबाट प्राप्त भयो ।
तेह्रौँ साग: काठमाडौँ
पोखरा/जनकपुर
१३औँ सागमा भने नेपालको लक्ष्य ठूलो छ । नेपालले यसपटक ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ । नेपालको पदकको मुख्य स्रोत मार्सल आर्ट नै हुनेछ । १२औँ सागमा समावेश २३ खेलको तुलनामा यसपटक २६ खेल हुँदै छ । नेपालले सबै खेलमा भाग लिँदै छ भने भारतले १७ खेलमा । पदक तालिकामा भने भारतलाई अन्य देशले माथ दिन गाह्रै छ । भारतको नजर अब दक्षिण एसिया रहेन । उसले फुटबल, कबड्डी, टेनिस, टेबुल टेनिस, बक्सिङलगायत कैयौँ खेलमा विश्वस्तरीय लिग सुरु गरिसकेको छ । कम खेलमा भारतले भाग लिँदा नेपालसहित अन्य राष्ट्रलाई पदकको हिसाबले फाइदा होला तर प्रतिस्पर्धा र एक्सपोजरको हिसाबले घाटा । यसपटक सात देशका २,९१० मध्ये नेपालका ५९९ खेलाडी छन् । अफगानिस्तानले यस सागमा भाग नलिँदा नेपाललाई चिठ्ठा परेझैँ भएको छ । स्मरणीय छ, अफगानिस्तानले १२औँ सागमा ७ मध्ये ६ स्वर्ण तेक्वान्दोमै जितेको थियो । यसपटक उसुमा २२, तेक्वान्दोमा २९, करातेमा १९ र जुडोमा १५ स्वर्ण गरी ८५ स्वर्ण पदक मार्सल आर्टमा छ । नेपालको मुख्य ध्यान त्यतैतिर छ ।
अहिले मार्सल आर्टबाहेक महिला र पुरुष फुटबलमा पनि नेपालको आँखा छ । फुटबलका पूर्वराष्ट्रिय कप्तान हरि खड्का यतिखेर महिला टिमका प्रशिक्षक हुनुहुन्छ । उहाँ महिला फुटबलले स्वर्णपदक प्राप्त गर्ने सम्भावना देख्नुहुन्छ । बक्सिङमा नेपाल २० वर्षयता स्वर्ण पदकविहीन छ । एथलेटिक्समा पनि सधैँ पदक प्राप्त गर्न सकेको छैन । टीका बोगटी (१९९५), राजेन्द्र भण्डारी (२०१०) लाई हेर्ने हो भने नेपाललाई हालको वर्षमा यदाकदा नै सफलता हात लागेको छ । कबड्डीमा भारत पावरहाउस हो । पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का नेपालभन्दा अब्बल छन् । प्रमुख प्रशिक्षक नै आफूहरूसँग म्याच अनुभव नभएको बताउँछन् । फुटबल र क्रिकेटमा दर्शक झुम्मिनेछन् । क्रिकेटमा हाम्रा खेलाडीले भारत र अफगानिस्तानको अनुपस्थितिको फाइदा उठाउलान् ? महिला भलिबलमा पनि बढी आशा छ ।
जेहोस्, अहिले राजनीतिक रूपमा पाकिस्तान–भारतबीच तनाव हुँदा र नेपाल–भारतबीच सीमासम्बन्धमा विवाद देखिँदा तथा सार्क सङ्गठनसमेत ‘स्लिपिङ मोड’मा हुँदा खेलकुदमार्फत् दक्षिण एसिया ‘भाइबे्रन्ट’ हुन लागेको छ । दक्षिण एसियाली यो खेल महाकुम्भ केही हदसम्म भए पनि मैत्री, भ्रातृत्व, शान्ति, एकताको सन्देश दिन सफल हुन सकोस् !