logo
२०८१ मंसिर ७ शुक्रवार

 सन्दर्भ १३ औँ साग 



घरेलु मैदानमा आशा धेरै

पढ्नै पर्ने |
खेलकुद |


घरेलु मैदानमा आशा धेरै


प्रजित शाक्य

पछिल्ला केही महिना नेपाली खेलाडी कडा प्रशिक्षणमा छन् । २१ खेलका टोली त प्रशिक्षणका लागि विदेश नै लागे । केही खेलका लागि नेपालमै विदेशी प्रशिक्षक बोलाएर अभ्यास अगाडि बढाइयो । यो तामझामको उद्देश्य हो, आइतबारदेखि नेपालमै सुरु हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुदमा धेरैभन्दा धेरै पदक जित्ने । यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षणमा मात्रै ४५ करोड रुपियाँ खर्चिएको छ ।

घरेलु मैदानमा साग प्रतियोगिता हुने भएकाले यसपालि नेपालबाट धेरै पदकको अपेक्षा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले त नेपालले ५० स्वर्णपदक जित्ने दाबी नै गरिसक्यो । आयोजकको नाताले नेपाली खेलाडीमा राम्रो प्रदर्शन गर्ने जिम्मेवारी त छ नै घरेलु समर्थक र मैदानको ऊर्जा पनि खेलाडीहरुलाई छ । खेलकुदमा घरेलु मैदान र घरेलु समर्थकले पार्ने प्रभावबारे त्यति व्याख्या गर्नु नपर्ला । दर्शकहरू आफ्ना खेलाडी च्याम्पियन बनून् भनेर लालायित हुन्छन् । आफ्नो मैदान र घरेलु दर्शककै कारण बलिया टिम र खेलाडी कमजोर टिम र खेलाडीसँग पराजय भोगेका अनेकौँ उदाहरण पनि छन् ।

विश्व च्याम्पियनसिप र ओलम्पिकको कुरा छोडौँ, एसियाली खेलकुदमा भारतलाई छोडी अन्य राष्ट्र निकै पछाडि छन् । यसकारण पनि साग प्रतियोगितालाई यी राष्ट्रले आफ्नो प्रतिष्ठाको विषय बनाउँदै अएका छन् । ओलम्पिक र एसियाली खेलकुदमा अनुभव बटुल्नमात्र सहभागी हुने यी राष्ट्रका खेलाडी सागमा पदक जित्ने दाउमा हुन्छन् ।

यसअघि नेपालमा सन् १९८४ र १९९९ मा गरी दुईपटक दक्षिण एसियाली खेलकुदको आयोजना भयो । नेपालले यी दुवै संस्करणमा अपेक्षाअनुरूप पदक बटुलेको थियो । आठौँ संस्करणमा त नेपालले स्वर्णपदक मात्र ३१ वटा हासिल ग¥यो । यो खेलमा नेपाल पदक तालिकामा भारतपछि दोस्रो स्थानमा रह्यो । काठमाडौँमा भएको पहिलो संस्करण आयोजनाकै लागि मात्र गरिएको थियो । यो संस्करणमा पाँच खेल सामेल थिए । पहिलो संस्करणमा पनि नेपालले ४ स्वर्ण, १२ रजत र ८ काँस्यसहित २४ पदक जितेको थियो ।

विगतका संस्करणलाई हेर्ने हो भने नेपालले मार्शल आर्ट्समा बढी पदक जितेको छ । त्यसपछि एथलेटिक्स, बक्सिङ र फुटबल पनि नेपाललाई स्वर्ण दिलाउने खेल हुन् । भारोत्तोलन, टेबलटेनिस, सुटिङजस्ता खेलमा पनि अनपेक्षितरूपमा नेपाली खेलाडी च्याम्पियन बनेका छन् । यसटक नेपालले मार्शल आर्ट्सबाट नै धेरै स्वर्णपदक जित्ने आशा गरिएको छ । मार्शल आर्ट्स भन्नाले तेक्वान्दो, कराँते, उसु र जुडो हुन् । नेपालमा मार्शल आर्ट्सका धेरै खेलाडी छन् । देशभरि मार्शल आर्ट्स डोजोको सङ्ख्या गन्ने हो भने हजारौँ पुग्छ । सागमा नेपाललाई सबभन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो । कराँते, जुडो र उसुबाट पनि नेपालले पदक बटुल्दै आएको छ ।

यद्यपि सागमा नेपाललाई सबभन्दा बढी स्वर्णपदक दिलाउने खेल तेक्वान्दो हो तर सागको पछिल्लो संस्करणमा नेपाल यो खेलमा स्वर्णपदकविहीन हुनुप¥यो । यसपालि तेक्वान्दो खेल पुनः आफ्नो प्रतिष्ठा फर्काउने दाउमा छ । तेक्वान्दोको बन्द शिविर पनि लामै भयो । तेक्वान्दो टोलीले सागकै तयारीको क्रममा इन्डोनेसियामा अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेल्यो । वैदेशिक प्रशिक्षणको क्रममा यो टोली मलेसिया र चीन पुग्यो । चीनमा ग्यारोगी, मलेसिया र थाइल्यान्डमा पुम्से खेलाडीले प्रशिक्षण लिए । यसपालि भारतले तेक्वान्दोमा सहभागिता नजनाउने र अफगानिस्तान पनि सागबाट बाहिर हुँदा नेपाललाई स्वर्ण कुम्ल्याउने ठूलो अवसर छ ।

नेपालले दोस्रोपटक दक्षिण एसियाली खेलकुदको आयोजना गर्दा कराँतेले पहिलो पटक प्रवेश पाएको हो । कराँतेका १६ मध्ये १४ स्वर्णपदक जितेर नेपालले सनसनी नै मच्चायो । पछिल्लो संस्करणमा कराँतेलाई सामेल गरिएको थिएन । यसपालि पुनः दक्षिण एसियाको सबभन्दा ठूलो खेल मेलामा प्रवेश पाएपछि कराँते हौसिएको छ । कराँतेबाट तेक्वान्दोले जस्तो कम्तीमा आठ स्वर्णपदक जित्ने दाबी गरिएको छ । बङ्गलादेशमा आयोजित प्रतियोगितामा भाग लिँदा र मलेसियामा प्रशिक्षण पाउँदा नेपाली कराँते टिम अझ तिखारिएको छ । यस खेलमा पनि भारतको अनुपस्थिति रहने हुँदा कराँतेका सबै तौलमा नेपाल स्वर्णपदकको दावेदार हो ।

उसुमा त २२ मध्ये दश स्वर्ण जित्ने दाबी गरिएको छ । यसपटक उसुमा भारतको दबदबा तोड्ने दाउमा नेपाल छ । उसुको प्रशिक्षण नेपालमै भयो तर उसुका ११ खेलाडीले कात्तिकमा चीनको साङ्घाईमा भएको १५औँ विश्व उसु च्याम्पियनसिपमा सहभागिता जनाए । जुन नेपाली उसु खेलाडीका लागि सागको तयारीकै एक पक्ष रह्यो । प्रतियोगितामा नेपाली उसु खेलाडी उत्कृष्ट लयमा देखिएकाले पनि यस खेलबाट नेपाललाई धेरै पदक आउने अपेक्षा छ । जुडो पनि नेपाललाई स्वर्णपदक दिलाइरहने खेल हो । त्यसैले जुडोबाट घरेलु भूमिमा स्वर्णको अपेक्षा गर्नु गलत हुनेछैन । जुडो टिम यही अपेक्षामा खरो उत्रन तयारीका लागि मङ्गोलिया र जापान पुग्यो । स्वर्णका दाबेदार खेलाडीले मोरक्को र जापानमा भएको विश्व च्याम्पियनसिप खेले । जुन अनुभवले ती खेलाडीलाई सागमा फाइदा नै पुग्नेछ ।

१३औँ सागको समापन फुटबल फाइनलसँगै हुनेछ । फुटबलको प्रतिष्ठित स्वर्ण जितेर सागको सुखद बिदाइ गर्ने चाहना नेपालको छ । साग खेलकुदमा स्वर्णपदकको कुरा गर्दा फुटबलबाट सधैँ आशा गरिन्छ । यस खेलमा नेपाल सधैँ स्वर्णपदकको दाबेदारको रूपमा रहिआएको छ । अन्य खेलमा हार व्यहोर्नुपरे पनि फुटबलमा आफ्नो टिमलाई असफलता प्राप्त गरेको नेपाली दर्शकहरू देख्न सक्दैनन् । नेपालले अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा तीनपटक स्वर्णपदक जितिसकेको छ । यसपालि पनि नेपाल दाबेदारमध्ये एक हो । विश्वकप छनोटअन्तर्गत कुवेत, अस्ट्रेलिया, जोर्डनजस्ता स्तरीय टिमसँग लगातार अन्तर्राष्ट्रिय खेल खेलिरहेको हुँदा पनि नेपाली फुटबल टिम अहिलो राम्रो ‘म्याच प्राक्टिस’मा छ । दक्षिण एसियाको पहिलो टिम भारतले फुटबलबाट नाम झिकेपछि नेपालको च्याम्पियन बन्ने सम्भावना बढेको छ । विमल घर्तीमगर, अञ्जन विष्ट र दिनेश राजवंशीजस्ता प्रमुख खेलाडी अनुशासनको कारबाहीले अन्तिम समयमा टिमबाट निकालिएका छन् । जुन सुखद समाचार होइन । तर घरेलु मैदानमा नेपाली फुटबल समर्थकलाई स्वर्णभन्दा कमको पदकबाट सन्तुष्टि हुनेछैन । महिला फुटबल पनि यसपालि घरेलु मैदानमा भारतको दबदबा तोडेर च्याम्पियन बन्ने अभियानमा छ । पछिल्ला सबै सागमा भारतसँग हारेर रजतमै सीमित बनेको नेपालका लागि हारको बदला लिने अवसर यसपटक मिलेको छ । पौडी र एथलेटिक्स धेरैभन्दा धेरै स्वर्णपदक कुम्ल्याउने दुई खेल हुन् । पौडीमा ३८ स्वर्ण र एथलेटिक्समा ३६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । त्यसैले अङ्कतालिकामा लक्ष्य बनाएको दोस्रो स्थान हासिल गर्नुछ भने नेपालले यी दुई खेलमा पनि केही विशेष गर्न जरुरी हुनेछ । साग खेलकुदको सुरुका तीन संस्करणमा वैकुण्ठ मानन्धरले लगातार तीन स्वर्ण जितेर आफूलाई आदर्श धावक सावित गरिसक्नुभएको छ । त्यसपछि नेपाल एलेटिक्समा पदकविहीन भएको छैन । तर स्वर्णपदक खासै छैन । वैकुण्ठपछि टीका बोगटी र राजेन्द्र भण्डारीले मात्र एथलेटिक्समा स्वर्णपदक जित्नुभएको छ । विगतलाई हेर्ने हो भने एथलेटिक्सबाट खासै आशा गर्न सकिँदैन । प्रशिक्षक र खेलाडीले पनि ठोकुवा गरेर स्वर्णपदक जित्छु भनेर भन्न सकेका छैनन् । हङ्कङमा सम्पन्न तेस्रो युवा एथलेटिक्स च्याम्पियनसिपमा तीन हजार मिटर दौडमा स्वर्णपदक जित्ने अजित भण्डारीबाट स्वर्णपदकको अपेक्षा गरिएको थियो तर उहाँको अस्वस्थताले नेपाललाई धक्का पुगेको छ ।पौडीमा गौरिका सिंहबाट अपेक्षा गरिएको छ । १२औँ साग अघिसम्म नेपालको पौडीले व्यक्तिगत पदक जित्न सकेको थिएन । पछिल्लो संस्करणमा गौरिका तीनवटा व्यक्तिगत पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नुभयो । पौडीमा गौरिकाले स्वर्ण जितेर अर्को इतिहास बनाए आश्चर्य मान्नुपर्ने छैन ।

दक्षिण एसियाली खेलकुदमा बक्सिङको स्थान महìवपूर्ण छ । नेपाललाई पहिलो स्वर्ण यही खेलबाट प्राप्त भएको हो । यद्यपि सन् १९९९ मा काठमाडौँमा भएको आठौँ संस्करणपछि नेपालको बक्सिङ स्वर्णविहीन छ । घरेलु रिङमा नेपाली बक्सिङले आफ्नो गौरवपूर्ण गाथा फेरि गाउँछ कि गाउँदैन, त्यो त भविष्यले नै बताउला । घरेलु रिङमा स्वर्णपदक जित्ने अपेक्षामा बक्सिङ लामो समयदेखि विशेष प्रशिक्षणमा छ । यसपालि बक्सिङले कम्तीमा पाँच स्वर्णपदक जित्ने अपेक्षा गरिएको छ ।नेपाली क्रिकेटले विगतका केही वर्षमा ठूलो फड्को मारेको छ तर सागमा क्रिकेटको कुरा गर्दा नेपाललाई सजिलो छैन । भारत र पाकिस्तान सहभागी नभए पनि श्रीलङ्का र बङ्गलादेशको उपस्थितिमा नेपाललाई च्याम्पियन हुन कठिन नै छ । यसैगरी, भारोत्तोलन, टेबलटेनिस, साइक्लिङ, आर्चरीबाट पनि सुटुक्क स्वर्ण नआउला भन्न सकिन्न ।

यसपालि पाराग्लाइडिङबाट नेपाललाई कम्तीमा आधा दर्जन स्वर्ण पक्का थियो तर नेपाल र पाकिस्तानले मात्र यस खेलमा नाम दर्ता गरेपछि पाराग्लाइडिङ नहुने भएको छ । जुन सागअघि नेपाललाई परेको ठूलो धक्का मान्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?