गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २१ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को सातौं दिन दुइ स्वर्ण पदक जितेको छ । म्याराथनमा किरणसिं बोगटी र कुस्तीमा संगिता धामीले स्वर्ण पदक जित्नुभयो । जनकपुरधाममा जारी कुस्ती विधामा धामीले नेपाललाई पहिलो स्वर्ण दिलाउनुभयो । धावक किरणसिंहले ३२ वर्षपछि नेपाललाई म्याराथनको ४२ किलोमिटर दौडमा स्वर्ण पदक ल्याउन सफल हुनुभयो ।
सागको सातौं दिन नेपालका लागि ठूला दुई विधामध्ये एउटामा हार र अर्कोमा जितले खेल प्रशसंकलाई मिश्रित परिणाम ल्यायो । फुटबल विधाको खेलले खेल प्रशंसकलाई उत्साहित बनाउँदा क्रिकेटमा बङ्गलादेश विरुद्धको हारले निराश हुन बाध्य तुल्यायो । फुटबलमा नेपाल फाइनल नजिक पुगेको छ । क्रिकेटमा भने हारपछि तेस्रो स्थानको लागि हुने स्पर्धामा पुर्याएको छ । बक्सिङ्ग विधाका छजना बक्सर फाइनलमा पुग्दा नेपालका लागि सातौं दिन उपलब्धीमूलक नै रह्यो ।
३९ स्वर्णको नतिजा, भारतको प्रभुत्व
कुल ३९ स्वर्णका लागि भएको स्पर्धामध्ये २६ स्वर्ण भारतले जित्यो । हालसम्म २१४ स्वर्ण पदकको नतिजा आइसकेको छ । आगामी तीन दिनभित्र थप १०० स्वर्ण पदकको लागि स्पर्धा हुनेछ ।
४३ स्वर्ण, ३४ रजत र ६६ कास्यसहित नेपालको कुल पदक संख्या १४२ पुगेको छ । नेपालले शनिबार दुई स्वर्ण, छ रजत र १७ कास्य पदक जित्यो ।
भारतले कुल स्वर्ण संख्या ११० पुर्याएको छ । उसले ६९ रजत र ३५ कास्य गरी २१४ पदक जितेको छ । श्रीलङ्काले म्याराथनमा पाँच गरी सातौं दिन सात स्वर्ण हात पार्न सफल रहँदै कुल स्वर्ण संख्या ३० पुर्याएको छ । ऊ पदक तालिकामा तेस्रो स्थानमा यथावत छ । उसले हालसम्म ५७ रजत र ८३ कास्यसहित कुल १७० पदक जितेको छ ।
पाकिस्तानले सातौं दिन चार स्वर्ण हात पारेर कुल २३ स्वर्ण जितेको छ । पाकिस्तानले ३० रजत र ३४ कास्य गरी कुल ८७ पदक प्राप्त गरेको छ । त्यसै गरी बङ्गलादेशले शनिबार तीन स्वर्ण जित्न सफल भयो । उसले सात स्वर्णसहित २२ रजत र ५५ कास्य गरी ८४ पदक जितेको छ । छैठौं स्थानको माल्दिभ्सले एक स्वर्ण र दुई कास्य गरी तीन पदक तथा पुछारको भुटानले ६ कास्य जितेको छ ।
नेपाललाई संगिता र किरणसिंहको स्वर्ण
संगिता धामीले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को कुस्ती विधामा नेपालका लागि पहिलो स्वर्ण जित्नुभएको छ । उहाँले ५५ किलो तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो ।
जनकपुरधाममा शुक्रबारबाट सुरु भएको सागको कुस्ती विधाको खेलमा संगिताले शनिबार बङ्गलादेशकी सकिरा सरकारिनेलाई हराएर स्वर्ण पदक प्राप्त गर्नुभयो । सागको कुस्ती विधामा नेपालले स्वर्ण जितेको यो पहिलो अवसर हो । पहिलो दिन नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो । सकिरालाई संगिताले ४–१ ले हराउँदै नेपाललाई ४३ औं स्वर्ण पदक दिलाउनुभयो ।
नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदको म्याराथनमा स्वर्ण पदक जितेको छ । नेपाली धावक किरणसिंह बोगटीले नेपाललाई ४२ किलोमिटर म्याराथनमा स्वर्ण पदक जित्नुभएको हो । उहाँले उक्त विधामा तीन दशकपछि नेपाललाई स्वर्ण दिलाउनुभयो ।
तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त शनिबार बिहान काठमाडौंको दशरथ रंगशालाबाट सुरु भएको ४२ किलोमिटर म्याराथन बोगटीले दुई घण्टा २१ मिनेट १७ सेकेण्डमा पुरा गर्नुभयो । भारतीय धावक रास्पाल सिंहले उक्त दूरी पार गर्न दुइ घण्टा २१ मिनेट ५७ सेकेण्ड लगाउनुभयो । उहाँ रजत पदक जित्नुभयो । त्यसैगरी अर्का भारतीय धावक श्री सिंह दुई घण्टा २२ मिनेट ७ सेकेण्ड लगाएर तेस्रो हुँदै कास्य पदक जित्नुभयो । नेपालकै अर्का धावक होमलाल श्रेष्ठले दुई घण्टा २४ मिनेट ३१ सेकेण्ड लगाएर चौथो हुनुभयो ।
बोगटीले स्वर्ण पदक दिलाउनु भएपनि धावक वैकुण्ठ मानन्धरको कीर्तिमान भने भङ गर्न सक्नुभएन । मानन्धरले सन् १९८७ को सागमा ४२ किलोमिटरको म्याराथन मात्र दुई घण्टा १५ मिनेटर तीन सेकेण्डमा पुरा गरेर स्वर्ण जित्नुभएको थियो ।