विद्युत प्राधिकरणमा मात्रै २६ करोड ५२ लाखको बक्यौता
धीरेन्द्रप्रसाद साह
राजविराज, मंसिर २३ गते । नेपाल विद्युत प्राधिकरणले लोङसेडिङ अन्त्य गरेर जनतालाई राहत दिएपनि आफू भने करोडौं रुपियाँ बक्यौता उठाउन नसकेर समस्यामा परेको छ । सप्तरी जिल्लाको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजमा विद्युत् महशुल नबुझाउने कालोसूचीमा परेको ग्राहक संख्या एक हजार छ रहेको छ । उनीहरूबाट प्राधिकरणले २६ करोड ५१ लाख बक्यौता उठाउन बाँकी रहेको छ । त्योमध्ये अधिकाशं बक्यौता रकम कालोपाटीमा चढिसकेको छ ।
प्राधिकरणको कालोसूचीमा गोपाल च्यारट्री ट्रष्टसहित राइस मिल, सःमील, व्यक्ति, फर्म, उद्योग, सहकारी संस्था, सार्वजनिक निकाय समेत परेको छ । पुरानो गाउँ विकास समिति, विद्यालय पनि कालोसूचीमा परेको छ । विद्युत महसुल नबुझाउँदा लाइन काटिएपनि अझैसम्म महसुल नबुझाउने ग्राहकहरुलाई कालोसूचीमा राखिएको राजविराज वितरण केन्द्रका सूचना अधिकारी धीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
विद्युत महसुल नबुझाउने २०७२ देखि २०७५ सम्म गरी तीन वर्षको अवधिमा एक हजार छ ग्राहकको लाइन काटिएको उहाँले जानकारी दिनुभयो । कालोसूचीमा परेका व्यक्तिगत ग्राहकबाट ९३ लाख चार हजार ४२ असुली गर्न बाँकी रहेको छ ।
त्यस्तै सबभन्दा बढी विद्युत् महशुल बक्यौतामा अस्पताल, राजविराज नगरपालिका, औद्योगिक क्षेत्र, पुरानो गाउँ विकास समिति, जिल्ला विकास समितिको कार्यालय लगायतका छन । उनीहरुसँग २६ करोड ५२ लाख २५ हजार ९६१ रुपियाँ महशुल बक्यौता रहेको वितरण केन्द्र प्रमुख आमोदकुमार यादवले जानकारी दिनुभयो ।
महशुल बक्यौतामध्ये सब भन्दा बढी सगरमाथा अञ्चल अस्पताल(हाल गजेन्द्रनारायण सिंह अस्पताल) को रहेको छ । उसले एक करोड ३५ लाख ६९ हजार ५५०, राजविराज नगरपालिकाले एक करोड १५ लाख २० हजार ७५४, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र ५८ लाख ३७ हजार ११३, साविकको जमुनी मधेपुरा गाविस २७ लाख छ हजार २१०, छिन्नमस्ता गाउँपालिका २२ लाख ८९ हजार ८७०, देउरी भरुवा १७ लाख २३ हजार ६४७, बेलही चपेना उपर १६ लाख ६९ हजार ५२३, मलेठ १४ लाख १५ हजार ५५६, नगरपालिका कार्यालयसँग १३ लाख ९४ हजार ५४७ महशुल असुली गर्न बाँकी रहेको वितरण केन्द्रको तथ्याकंमा उल्लेख छ ।
त्यस्तै, साइँ कृष्ण मेडिकल कलेजले १२ लाख ९६ हजार २५९, एनसेल प्राइभेट लिमिटेड नौ लाख ६४ हजार ७५९, साविकको नर्घो गाविस नौ लाख २० हजार १११, बोरिया नौ लाख १५ हजार ९४८, गम्हरिया प्रवाह सात लाख ४५ हजार २४८, साविकको जिल्ला विकास समितिको कार्यालय सात लाख ४३ हजार ७२६, फर्सैठ सात लाख २८ हजार ५९५, सिम्रहासिग्यौन छ लाख ८६ हजार ९६१, रायपुर छ लाख ५७ हजार ८१७, कोचाबखारी छ लाख ४१ हजार १६३ र गोपाल च्यारिट्र ट्रष्ट छ लाख २५ हजार ९६३ रुपियाँ बक्यौता रहेको बताइएको छ ।
तर, यी निकायहरुको लाइन नकाटी रकम बुझाउन बारम्बार पत्राचार गरिएको भएपनि असुली भइनरहेको सूचना अधिकारी धीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । यता प्राधिकरणले महशुल नबुझाउने ग्राहकको साउनदेखि लाइन काट्ने अभियान सुरु गरिएको भन्दै उहाँले हाल सम्ममा २८१ जना भन्दा बढी ग्राहकको लाइन काटिएको जानकारी दिनुभयो ।
पहिलो चरणमा विद्युत महसुल नबुझाउँदा लाइन काटिन्छ सूचना अधिकारी यादवले भन्नुभयो, त्यसपछि छ महिनासम्म पनि महसुल नबुझाएपछि कालोसूचीमा राखिन्छ । कालोसूचीमा पर्ने ग्राहक प्रत्येक दिन थपिदै गएको उहाँले बताउनुभयो ।