गोकर्ण दयाल
बैतडी, मङ्सिर २४ गते । ‘सीडिओ साप ! बैतडीका स्थानीय तहमा चलेका डोजरको सुई चेक गरिदिनुहोस् । डोजरले काम गरेको भुक्तानी लिने बेला कागजमा बढी सयम काम गरेको देखाईन्छ । राज्यलाई कर तिर्ने बेला कम समय डोजर चलेको भनेर राज्यलाई नै ठग्ने काम भईरहेको छ ।’ यो भनाई सुर्नया गाउँपालिकाका स्थानीय देवबहादुर चन्दको हो ।
सोमवार जिल्ला प्रशासन कार्यालय बैतडीको प्राङ्गणमा भएको भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँबाट बैतडी सदरमुकाम पुग्नु भएका चन्दले माईक समातेर भन्नुभयो, ‘ राज्यलाई कर तिर्नु पर्ने कुरामा समेत डोजर मालिकहरु फर्जि काम गरिरहेका छन् । एक चोटी स्थानीय तहमै गएर डोजरको सुई चेक गरिदिनुहोस् ।
चन्दको जस्तै गुनासो कार्यक्रममा सहभागी हुनुभएका प्रध्यापक कैलाश कनौजियाले पनि राख्नुभयो । कनौजियाले भन्नुभयो, डोजरलाई काम दिन जनप्रतिनिधिले आफु निकटका व्यक्तिको उपभोक्ता समिति गठन गरेर गाउँ गाउँमा डोजर आतङ्क मच्चाई रहेका छन् । गाउँका युवा काम नपाएर पलायन भईरहेका छन् ।
कार्यक्रममा सहभागी सुर्नया गाउँपालिकाका युवा नरेन्द्रप्रसाद भट्टले स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जस्तो महत्वपूर्ण अधिकार आए पनि अधिकारको दुरुयोग गर्दै नीतिगत भ्रष्टाचार भईरहेको बताउनुभयो ।
भट्टले भन्नुभयो, स्थानीय तह आफै बजेट ल्याउँछ, आफै कार्यान्वयन गर्छ र आफै मूल्याङ्याकन गरेर भुक्तानी दिन्छ । भ्रष्टचार भयो भनेर नागरिकले फेरि जिल्ला सदरमुकाम पुगेर प्रमुख जिल्ला अधिकारीलाई गुहार्नु पर्ने अवस्था आएको छ ।
कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बैतडीमा भ्रष्टचारको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै गत आर्थिक वर्ष जिल्ला प्रशासन कार्यालयमा भ्रष्टाचार सम्बन्धी ८३ वटा उजुरी परेको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार स्थानीय तहमा भ्रष्टचार भएको ठाडो उजुरी आउने गरेको छ । ८३ वटा उजुरी मध्ये सबै फछ्र्यौट भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबीनका लागि २१ वटा उजुरीको फाईल बैतडी जिल्ला प्रशासन कार्यालयमा आएका छन् ।
प्रमुख जिल्ला अधिकारीले प्रस्तुत गर्नु भएको कार्यपत्रमाथि टिप्पणी गर्दै जगन्थान बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले जिल्ला प्रशासन कार्यालयले भ्रष्टाचार सम्बन्धी आएको उजुरीको छानबीनपछि दोषी ठहरिएका भ्रष्टाचारीहरुको नामावली सार्वजनिक गर्नु पर्ने बताउनुभयो ।
नागरिक समाज बैतडीले आयोजना गरेको कार्यक्रममा दशरथचन्द नगरपालिका, मेलौली नगरपालिकाका मेयर र अन्य स्थानीय तहका प्रमखु प्रशासकीय अधिकृत सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा नागरिक समाज बैतडीका अध्यक्ष गणेश ठकुराठीले स्थानीय तहमा हुने भ्रष्टाचार विकासको मुख्य बाधक भएकोले भ्रष्टाचार नियन्त्रण गरे मात्र सुखी नेपाली, सम्बृद्ध नेपाल बन्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी अधिकाशं सर्वसाधारणले स्थानीय तहले सार्वजनिक सुनुवाई नगर्ने र विकास निर्माण सम्बन्धी कार्यक्रमका बारेमा जानरी माग्दा सूचना समेत नदिने गरेको गुनासो गरेका छन् ।