logo
२०८१ मंसिर १० सोमवार

 तराईमा चिसो बढ्यो 



वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित

पढ्नै पर्ने |
प्रदेश |


वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित


शिवशंङ्कर मिश्र

बारा, पुस २ गते । बाक्लो हुस्सु चिसो हावासँगै शितलहर शुरु भएपछि मध्य तराईका बारा जिल्लाको जनजीवन प्रभावित भएको छ ।

शितलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने साना–ठूला विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै कामगर्ने मजदुर प्रभावित बनेका छन् । शितलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् ।

शितलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको संक्रमण बढेको छ । आज विहानबाट थप चिसो बढेपछि कलैया, जीतपुरसिमरा, निजगढ, कोल्हवी, महागढीमाई, सिम्रौनगढ नगर क्षेत्र लगायतका विभिन्न सार्वजनिक स्थानमा आगो बालिएको छ ।

जिल्ला दैवी प्रकोप समन्वय समितिको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलको अनुरोधमा जिल्ला १६ वटा स्थानीय तहमा दाउरा सहितको चोकचोकमा आगोको व्यवस्था गरिएको महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुले बताउनुभयो ।

यसैगरी वर्षापछि बढेको अत्याधिक चिसोको कारण ग्रामिण क्षेत्रको जनजीवन थप कठिनाई भएको छ । विशेष गरेर शुरु भएको दलित समुदायका बालबालिका तथा महिलाहरुलाई न्यानो कपडाको अभावमा प्रभावित भएको देवताल गाउँपालिका पिप्राढी टोल निवासी राजनारायण रामले बताउनुभयो ।

चिसो बढ्न थालेपछि डसना, सिरक तथा कम्बलको बिक्री बढेको छ । दिनानुदिन परिवारको सँख्या बढ्दै गएपछि अचानक बढेको चिसो, हावासँगै शितलहरमा डसना, सिरक, कम्बलसँगै न्यानो कपडाको बिक्री बढेको कलैया उपमहानगरपालिका–१ का व्यापारी रहमुदिन मियाँले बताउनुभयो ।

डसना, सिरक एक जोडा कम्तीमा साढे तीन हजार तथा छ सय माथिसम्म क्वालिटी अनुसार कम्बल र बलैनकेट पाँच हजारसम्म बिक्री हुनेगरेको उहाँले बताउनुभयो । अहिले दैनिक सरदर दर्जन बढी बिक्री भई रहेको मियाँले जानकारी दिनुभयो ।

चिसोले जनजीवन प्रभावित

यस्तै महोत्तरी समाचारदाता, नागेन्द्रकुमार कर्णका अनुसार मंगलबारदेखि एक्कासी बढेको चिसोको कारणले महोत्तरीको जनजीवन प्रभावित बन्दै गएको छ । मंगलबार दिउँसोदेखि एक्कासी पश्चिमी हावा शुरु भएपछि चिसो बढाएको हो ।

चिसोमा सबभन्दा बढी बालबालिका तथा वृद्धवृद्धाहरुलाई अप्ठयारो हुने देखिएको छ । जलेश्वर अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा.सतिशकुमार साहले चिसो बढेको बताउनुहुदै बालबालिकाहरु तथा वृद्धवृद्धाहरुलाई घरबाहिर ननिस्कन र निस्कनु परे न्यानो लुगा लगाएर निस्कनुपर्ने सल्लाह दिनुभयो । यस्तो चिसोमा बढीभन्दा बढी झोल पदार्थ खानुपर्ने वताउनुहुदै यसले न्यानो राख्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।

चिसोमा निमोनिया र श्वासप्रश्वासको समस्या बढने भएकोले यसप्रति ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

चिसो बढेपछि स्थानीय बासिन्दाले दिनभरि नै घुर बालेर ताप्न थालेका छन् । मंगलबारसम्म घाम लागेपनि बुधबार भने घाम पनि उदाएनन् । स्थानीय युवा निरज मण्डलले चिसो बढेपछि बजारमा चहलपहल समेत कम भएको बताउनुहुदै ठाउँ ठाउँमा आगो ताप्ने पनि बढेको बताउनुभयो । चिसो बढेपछि स्थानीयबासीहरुले बाख्राहरुलाई समेत चिसोबाट बचाउन न्यानो कपडा लगाइदिने गरेका छन् ।

यसैबीच, दैविक प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले समितिले निर्णय गरेर सम्पूर्ण पालिकाहरुलाई शितलहरबाट स्थानीयहरुलाई बचाउन दाउराको व्यवस्थापन तथा ठाउँ ठाउँमा बाल्नको लागि परिपत्र गरिसकिएको बताउनुभयो । त्यसैगरी जोखिमयुक्त बस्ती पहिचान गरेर न्यानो कपडा तथा कम्वल वितरणका साथसाथै आवश्यक पहल थाल्न समेत सबै पालिकाहरुलाई निर्देशन गरिसकिएको बताउनुहुदै यससम्बन्धमा पालिकाहरुले के के गरेको छ कुनै खबर नआएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?