logo
२०८१ मंसिर १० सोमवार



मुहान सुके, गाउँमा विजुली पुग्यो, चल्न थाले विद्युतीय घट्ट

पढ्नै पर्ने |
प्रदेश |


मुहान सुके, गाउँमा विजुली पुग्यो, चल्न थाले विद्युतीय घट्ट


मनोज तिमलसिना
रौतहट,पुष ५ गते । ग्रामीण भेगमा विद्युतीकरणको बढ्दो पहुँचसंगै रौतहटको उत्तरी क्षेत्रमा रहेका अन्न पिसान गर्ने परम्परागत पानी घट्ट विस्थापन हुँदै जान थालेका छन् ।
जिल्लाको उत्तरी भेगमा ग्रामीण विद्युतीकरणको सहज पहुँच भएपछि आधुनिक घट्टको प्रयोग हुन थालेपछि परम्परागत पानी घट्ट हराउन थालेका हुन ।
यस क्षेत्रमा दश वर्ष अघिसम्म आधा दर्जनको संख्यामा पानी घट्ट थिए अहिले मुस्किलले दुईबटा मात्र सन्चालनमा रहेको गैंडाटारका रामबाबु धामीले बताउनुभयो । प्रविधिको विकाससँगै पानीबाट चल्ने त्यस्ता घट्ट विस्थापित भए पनि विधुती सेवा नपुगेको स्थानमा भने अझै परम्परागत पानी घट्ट सन्चालनमै रहेका छन् ।
आधुनिक मिल नभएका गैंडाटारमाथिका गाउँ मोरंगे, महादेव डाँडा,चिसापानी, हिलेखोला, भोलनटार आसपासमा भने सर्वसाधरणले पानी घट्टको नै प्रयोग गर्ने गरेका छन् । धामीका अनुसार,सहर बजारमा पानी घट्टको प्रयोग हुन छाडेपनि विधुत् नपुगेका गाँंबस्तीमा भने घट्टको लोकप्रियता अझै छ । फापर, गहुं, मकै पिस्नका लागी स्थानीयवासीले पानी घट्टमा ल्याउने गरे पनि यसबाट गुजरा चलाउन भने मुस्किल हुने गरेको छ ।
विद्युतीय सामानको प्रयोग बढ्दै गएप छि पानी घट्टमा आउने सर्वसाधरणको संख्या न्युन रहेको पानी घट्टका संचालकको भनाई छ । मकै, गहुँ, कोदो आधुनिक मिलमा पिधेको भन्दा पानीघट्टमा पिसेको पिठो स्वादिष्ट हुने सीताराम शर्माले बताउनुभयो ।
विद्युत विस्तार हुनु र पानीका मुहान सुक्न थालेपछि यस भेगमा आधुनिक घट्टको प्रयोग गर्न थालिएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर¬¬ –१ स्थित पौराइमा इलेक्ट्रोनिक घट्ट सञ्चालनमा ल्याइएको छ । प्रबिधिको बिकास हुँदै जान थालेपछि बिद्युतबाट सञ्चालन हुने घट्ट सञ्चालनमा ल्याइएको सञ्चालक भीमबहादुर बम्जनले बताउनुभयो । मिलमा पिसान गरिएका अन्नको पिठोका परिकार स्वादिष्ट नहुने भए पछि बिद्युतीय घट्टमा ल्याउने गरेको पौराईका स्थानीय सुकेन्द्र गोलेको भनाइ रहेको छ ।
दुई लाख रुपियाँ लागतमा छ महिना अघिदेखि पानी बिना नै अन्न पिसान गर्ने बिद्युतीय घट्ट सञ्चालनमा ल्याएको संचालक बम्जनले जानकारी दिनुभयो । बम्जनका अनुसार, घट्ट संचालन गर्दा दैनिक पाँच सय रुपैयाँसम्म आम्दानी हुने गरेको छ । नदिमा पानीका मुहान सुकेको समयमा परम्परागत पानी घट्ट संचालनमा किठनाई हुने गरेकाले विद्युतीय घट्ट संचालनमा ल्याइएको हो । विद्यतीय घट्ट संन्चालन गरेपछि कुनै समस्या नहुने र घरका अन्य सदस्यले समेत काम गर्न सघाउ पुगेको उहाँले बताउनुभयो । आधुनिक जीवनशैलीमा मानिस स्वादका लागी पानी घट्टसम्म पिठो पिसानका लागि जाने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?