कमल शर्मा
दैलेख, पुस ६ गते । जिल्लाको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उहाँको धर्मपत्नी इला मल्ल शाही अपहरणमा पर्नु भएको छ । विप्वल नेतृत्वको नेकपा समूहले शनिबार राति उहाँहरूलाइ घरबाटै अपहरण गरेकाे प्रहरीले आशंका गरेकाे छ ।
ठाटिकाँध गाउँपालिका वडा २ श्रीपाटामा रहेको घरबाट राती १२ बजे अध्यक्ष धिर बहादुर शाही र उहाँको धर्मपत्नी इला मल्ल शाही अपहरण परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको र त्यसको लागि प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष सुस्मीता शाहीका अनुसार आफू जिल्लामा आएको र अध्यक्ष र उहाँको धर्मपत्नीलाई अपहरण गरेको सूचना आफूलाई ठाँटिकाँध प्रहरीले दिनुभयो । गाउँपालिकामा त्यस्तो केही थिएन कसरी एक्कासी अपहरण भयो उहाँले बताउनुभयो । वडा नम्वर १ का वडा अध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राती १५ जनाको टोली आएर अपहरण गरेको भन्ने सुनेर स्थानीय आफन्त र अन्य टोली खोजी कार्यमा लागको बताउनुभयो ।
भर्तालेकमा इला मल्ल शाही भेटिनु भयो
अध्यक्ष सहित अपहरणमा परेकी उहाँको धर्मपत्नी इला मल्ल शाही दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने बर्ता लेकमा भेटिनुभएको स्थानीयले बताएका छन् ।
अपहरणको सूचना पाए लगत्तै स्थानीयले खोजी गर्न हिडेको टोलीले दैलेख र कालिकोट पर्ने भर्तालेकमा बिहान ९ बजे फेला पारेको सूचना आफुलाई प्राप्त भएको गाउँपालिका वडा १ का वडा अध्यक्ष नर्तमबहादुर बुढाले बताउनुभयो । उहाँ फेला परेपनि अपहरमा परेका अध्यक्ष शाहीको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो ।