टीकाबहादुर बस्नेत
दाङ, पुस ६ गते । हरेक दिन झैझगडा र कोलाहलमय बन्ने दाङको घोराही–१८ गिठेपानी गाउँ हिजोआज शान्त बनेको छ । स्थानीयहरुको पहलमा गत असोज महिनामा मदिरा निषेधित बनेको गिठेपानी अचेल शान्त मात्र बनेको छैन–विकास समृद्धितर्फ अग्रसर बन्दै गएको छ ।
मध्यरातसम्म कोलाहलमय हुने र मारपिट हुने गाउँ मदिरामुक्त भएसँगै समृद्धिको यात्रामा अगाडि बढेको भन्दै दिदीबहिनी टोलका अध्यक्ष घनबहादुर राउतले हरेक महिना बसेर गाउँको विकासका लागि योजना छनौट गर्न थालेको बताउनुभयो । ‘मदिराकै कारण हाम्रो गाउँको नाम नै बदनाम भएको थियो । हरेक साँझ मारपिट हुँदा अर्को दिन झगडा मिलाउन हम्मेहम्मे पर्ने गर्दथ्यो’, अध्यक्ष रावतले भन्नुभयो, ‘गाउँको विकासका लागि मदिरामुक्त गर्नैपर्ने निर्णय अनुसार अगाडि बढ्यौं र गाउँभित्रका दश ओटा टोल विकास संस्थाहरु एक भएर लागिप¥यौ । जसले गर्दा अभियान सफल भयो र अहिले गाउँ शान्त बनेको छ । विकासमा हामीहरु अग्रसर बन्दै गएका छौं ।’
गाउँमा कसैले पनि जाँड बनाउन र बेचबिखन गर्न नपाउने नियम बनाएको भन्दै अध्यक्ष रावतले मदिराले निम्त्याउने खतराका बारेमा सचेतना फैलाएसँगै व्यवहारमै मदिरामुक्त गाउँ बनेको बताउनुभयो । हिजो लुकेर मदिरा बेचबिखन गर्नेहरु नै सचेतना अभियानमा जुटेको भन्दै अध्यक्ष रावतले समाजमा एकता र भातृत्व फैलदै गएको जानकारी दिनुभयो । ‘हिजो लुकेर मदिरा बनाउने र बेचबिखन गर्नेहरु नै सचेतना अभियानमा जुटेपछि हाम्रो गाउँलाई व्यवहारमै मदिरामुक्त गाउँ बनाएका छौं’, अध्यक्ष रावतले भन्नुभयो, ‘हरेक महिना बैठक बसेर प्राथमिकताका आधारमा गाउँका योजना छान्ने र विकासमा वडाकार्यालयसँग साझेदारी गर्दै आएका छौं ।’
मदिरामुक्त भएसँगै गाउँमा मुद्दामामिलाको झमेला हटेर गएको भन्दै स्थानीय बुद्धिजीवी मित्र घर्तीमगरले गाउँ शान्ति कायम हुनुका साथै मेलमिलाप र भातृत्वको भावना फैलिदै गएको जानकारी दिनुभयो । मदिरामुक्त अभियानपछि स्थानीयहरु मिलेर वन व्यवस्थापनको काम सकेको भन्दै दिदीबहिनी टोल विकास संस्थाका सचिव दिनेश ओलीले अब बैठक बसेर दोस्रो चरणका योजना छनौट गर्ने जानकारी दिनुभयो । मदिरामुक्त अभियानका संयोजकसँग बसेर बैठकको मिति तय गर्ने तयारीमा जुटेको बताउँदै सचिव ओलीले भन्नुभयो, ‘अब छिट्टै बैठक बसेर विकासका योजना चयन गर्ने तयारीमा जुटेका छौं ।’
मदिरालाई जीविकोपार्जनको स्रोत बनाएका स्थानीयहरुको बाहुल्यता रहेको गाउँलाई मदिरामुक्त बनाउन ठूलै कसरत गर्नुपरेको भन्दै अभियानका संयोजक मात्रिकाप्रसाद पाण्डेले नागरिकमा सचेतना फैलाएकै कारण अभियानले सार्थकता पाएको बताउनुभयो । ‘मदिरा नबनाउने भन्दा बनाउने घरहरुको बाहुल्यता रहेको गाउँलाई मदिरामुक्त बनाउनु हाम्रा लागि ठूलै चुनौति थियो’, संयोजक पाण्डेले भन्नुभयो, ‘प्रहरीको सहयोगमा राति १२ वजेसम्म गाउँमा गस्ती गरेर मदिरा बेचबिखनलाई कम गर्दै लगेका हौं ।’
गिठेपानी गाउँभित्र रहेका दश ओटा टोलवासीहरु पालैपालो रात्रीकालिन समयमा गस्तीमा निस्कने र दिनमा सचेतना फैलाउँदै लगेको भन्दै संयोजक पाण्डेले अभियानले घरघरै र व्यक्ति–व्यक्तिमा सकारात्मक सन्देश पैदा भएर मदिरामुक्त गाउँ बनाउन सफल भएको बताउनुभयो । ‘श्रीमान्बाट पीडित भएका महिलाहरु काखे नानी च्यापेर मदिरा निषेधित अभियानमा निस्केका थिए,मदिरा बेचबिखन भए नभएको जान्न सुराकी छाडेका थियौं,घरभित्र मात्र नभई मकैबारी, खोल्सा र झाडीमा लुकाएर राखेको मदिरा र मदिरा बनाउने सामग्री नष्ट गरेका थियौं’, अभियान सम्झदै संयोजक पाण्डेले भन्नुभयो, ‘मदिरा सेव गर्नेहरुलाई नै अभियानसँग जोडेपछि अभियानले सार्थकता पाएको थियो ।’