टीकाबहादुर बस्नेत
दाङ, पुस ७ गते । दाङको घोराही उपमहानगरपालिका–४ छेकवारकी ८२ वर्षिया टीका घर्तीले जीवनमा पहिलोपल्ट स्वास्थ्य जाँच गर्नुभयो । स्वास्थ्यमा समस्या आउँदा घरेलु उपचार गर्दै आउनुभएकी टीकाले शनिबार घोराही उपमहानगरपालिकाले सुरु गरेको ‘ज्येष्ठ नागरिक स्वास्थ्य जाँच घरदैलो कार्यक्रम’ मा स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य जाँच गराउनुभयो ।
जेष्ठ नागरिकको चेकजाँचका लागि जनताको घरदैलोमा पुग्नुभएका उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसहितको स्वास्थ्यकर्मीको टोलीबाट स्वास्थ्य जाँच गराउनुभएकी टीकाले आफ्नै लवजमा भन्नुभयो, ‘अहिलेसम्म डाक्डर देखेकी थिनँ । आज देख्न पाएँ । अस्पताल गएकी थिनँ । बिरामी हुँदा यतैमा पाइने जरिबुटी खाने गर्थेँ ।’ हालसम्म अस्पताल नगएको बताउने टीकाले अस्पतालको औषधी नखाएको बताउनुभयो ।
तपाईँलाई केही समस्या छ आमा ? भन्ने स्वास्थ्यकर्मीहरुको प्रश्नको जवाफ दिँदै बृद्धा टीकाले ढाड दुख्ने समस्या सुरु भएको बताउनुभयो । बृद्धाका लागि औषधी छाड्दै स्वास्थ्यकर्मीहरुले टोलीले जुन तरिकाले जिउनुभएको छ, त्यसरी नै रहन सुझाव दिएको थियो ।
८२ वर्षिय टीका घर्तीजस्तै घोराही–४ सवारीकोटका कृष्ण बुढाले पनि घरमै स्वास्थ्य जाँच गराउनुभयो । केही समय रक्तचापको औषधी खाएर छाडेको भन्दै कृष्णले करेलाको सहारमा प्रेसर नियन्त्रण गरेको जानकारी दिनुभयो । कृष्णले उच्चरक्तचाप नियन्त्रण भइरहेको बताए तापनि स्वास्थ्यकर्मीको टोलीले जाँच गर्दा रक्तचाप बढी रहेको भेटिएपछि टोलीले कृष्णलाई नियमित औषधी सेवन गर्न सुझाव दिएको थियो ।
टीका र कृष्ण उदाहरण मात्र हुनुहुन्छ । शनिबार र आइतबार गरी घोराही–४ मा १ सय बढी जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरेको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभयो । घरघरमै स्वास्थ्य जाँच पाउँदा जेष्ठ नागरिकहरु हर्षित भएका छन् । तपाईँहरुलाई केही समस्या छ कि छैन ? भन्ने उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको जिज्ञासामा घोराही–४ का मेटसिंह कवरले भन्नुभयो, ‘हामीलाई हिजोआज समस्या छैन । सरकारले भत्ता बढाइदिएको छ । गोजीभरि पैँसा छन् । अब घरमै उपचार पाएपछि हामी हर्षित छौं ।’
पाँच सय बढी जेष्ठ नागरिकको चेकजाँच
घोराही उपमहानगरपालिकाले यस वर्षदेखि सुरु गरेको ‘ज्येष्ठ नागरिक स्वास्थ्य जाँच घरदैलो कार्यक्रम’ मा आइतबारसम्म पाँचसय बढी जेष्ठ नागरिकको चेकजाँच गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले पहिलो चरणमा पाँचवटा वडामा कार्यक्रम चलिरहेको जानकारी दिनुभयो । वडानम्वर १ देखि ५ सम्म पहिलो चरणमा अभियान सञ्चालन गरिरहेको भन्दै चौधरीले अब दोस्रो चरणमा अन्य वडामा पनि अभियान लैजाने जानकारी दिनुभयो ।
जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि उपमहानगरपालिकाले अभियान चलाएको भन्दै उपमहानगर प्रमुख चौधरीले १९ वटै वडामा ‘ज्येष्ठ नागरिक स्वास्थ्य जाँच घरदैलो कार्यक्रम’ लैजाने बताउनुभयो । स्वास्थ्यनीति बनाएर अगाडि बढिरहेको भन्दै चौधरीले चालु आर्थिक वर्षमा ५ लाख विनियोजन गरेको जानकारी दिनुभयो ।
महिना घरमै चेकजाँच
‘ज्येष्ठ नागरिक स्वास्थ्य जाँच घरदैलो कार्यक्रम’ हरेक महिना सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ । वडामा रहेका स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीबाट मासिक नियमित चेकजाँच गरिने उपमहानगरपालिका प्रमुख चौधरीले जानकारी दिनुभयो । जेष्ठ नागरिकमा प्रायजसो दम, प्रेसर, सुगरको समस्या देखिने गरेको भन्दै चौधरीले जटिल समस्या देखिएमा विशेषज्ञ टोलीद्वारा घरमै उपचार गर्ने तयारी रहेको बताउनुभयो ।
‘चेकजाँचका क्रममा प्रेसर, दम, सुगरजस्ता समस्या देखिएका छन् । जटिल समस्या देखिएमा नगरभित्र रहेका विशेषज्ञ डाक्टरहरुद्वारा घरमै उपचार गराउने तयारीमा छौं’, उपमहानगरपालिका प्रमुख चौधरीले भन्नुभयो, ‘मोतीबिन्दुको अप्रेशन गर्नुपर्ने नागरिकको पनि निःशुल्क अप्रेशन हुने गरी राप्ती आँखा अस्पतालसँग उपमहानगरले सम्झौता गरेको छ ।’