सिराजुद्दिन खान ।
नेपालगञ्ज, पुस ८ गते ।अनुमान गर्नुस पुसको कठ्याग्रिंदो चिसो, झ्याल ढोका नभएको नाम मात्रको घर । अनि त्यसमाथि ओढ्ने र ओछ्याउने केही नहुँदा पराल बिछ्याई परालनै ओढेर सुत्दा कस्तो अनुभव हुन्छ होला ।
यस्तै अनुभव गरेर बाँचीरहेको छ, बाँके बैजनाथ गाउँपालिका–३ नौबस्ताको आइते बुढाको परिवार । अति विपन्न भएका कारण उनिहरुसंग न त चिसोमा लगाउने कुनै राम्रो लुगा छ, न त ओढ्ने ओछ्याउने बिस्तरा । हुनेखानेहरु तातो सिरक र डस्नामा आरामका साथ सुतिरहेको बेला ५५ बर्षिय बुढाको चार जनाको विपन्न परिवार एक कोठे जीर्ण कच्ची घरमा पराल बिछ्याएर तथा ओढेर रात काट्न बाध्य छन ।
बुढाको परिवारमा उनकी श्रीमती एक १३ बर्षिय छोरी र १० बर्षिय छोरा छन् । श्रीमती शारिरीक रुपमा अंपाङ्ग लाटी छन् भने छोरी र छोरा नजिकैको सरकारी विद्यालय पढ्न जाने गरेका छन् । तर, उनिहरुसंग विद्यालयले दिएको किताब भएपनि कापी र कलम केही छैन ।
जेनतेन मिहिनेत मजदुरी गरेर खान खर्च चलाउँदै आउनु भएका बुढाले जाडो मौसम नआवोस भनेर प्रार्थना गर्ने गरेको बताउनु भयो । उहाँले गर्मीमा एउटै लुगा लगाएर पनि काट्न सकिने जनाउँदै तर चिसोको मौसममा बर्सेनी चिसो सहन नसक्दा धेरै समस्या हुने गरेको बताउनु भयो ।
ओढ्ने ओछ्याउने र लगाउने न्यानो लुगा नहुँदा पटक पटक आफु श्रीमति र छोरा छोरी समेत चिसोमा विरामी हुने गरेको बुढाले बताउनु भयो । बुढो र कमजोर ठानेर धेरैले काम नदिंदा कहिले काँही त खानाको जोहो गर्न पनि धौ धौं हुने गरेको उहाँको भनाई छ ।