जयकृष्ण यादव
इनरुवा, पुस १० गते । ग्रहण लागेको दिनमा दान गरेमा पुण्य प्राप्त हुनेभन्दै सुनसरीका स्थानीयले ग्रहण दान गरेका छन् । सुनसरी सदरमुकाम इनरुवा सहित ग्रामीण क्षेत्रमा ग्रहणका विषयमा मानिसहरुका विभिन्न धारणा रहेको भएपनि स्थानीयहरुले शहरदेखी गाउँसम्म ग्रहणदान गरेका छन् ।
विहीबार यहाँका मरिक समुदायका स्थानीयले गाउँगाउँ घरघरमा गएर ग्रहणदान संकलन गरेका छन् भने स्थानीयले ग्रहणकोसमयमा दान गर्दा उदार र पुण्य हुने भन्दै ग्रहणदान गरेका छन् ।
इनरुवा ३ का राजेन्द्र पोखरेलले समाजमा परम्परा धान्दै मरिकहरुले ग्रहणदान संकलन गर्न आएकाले ग्रहण दान गरेको बताउनुभयो । इनरुवा ९ बबियाका जसलाल यादवले घरमा नै साधुसन्त ग्रहणदान संकलन गर्न आएकाले नगदमा ग्रहणदान गरेको बताउनुभयो ।
यादवले गाउँमा धेरैले सूर्यग्रहणको समयमा पुरानो मान्यता अनुसार शुद्धाशुद्धीका लागि ग्रहणदान गरेको जानकारी दिनुभयो । शास्त्रअनुसार सूर्यग्रहण लागेको समयमा कुनै पनि शुभ कार्य वर्जित भएपनि ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ त्यसैले ग्रहणका समयमा दान दिएको र दीक्षा मन्त्र लिएको कोशी गाउँपालिका २ का ललिल यादवले बताउनुभयो ।