logo
२०८१ फाल्गुन २७ मंगलवार



उपाधिको लागि बिराटनगर र चितवन भिड्दै

पढ्नै पर्ने |
खेलकुद |


उपाधिको लागि बिराटनगर र चितवन भिड्दै


इश्वरचन्द्र झा
काठमाडौं, पुस १२ गते । पोखरामा जारी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिको लागि चितवन राइनोजले बिराटनगर टाइटन्ससँग भिड्दैछ । उपाधिको लागि दुई टोली साढे ११ बजे पोखरा रङ्गशालामा उत्रिनेछ ।
लिग चरणको पाँच खेलमध्ये पाँचैमा जित हात पारेर फाइनलसम्मको यात्रा गरेको चितवन राइनोजले बिराटनगरलाई हराएर पहिलोपटक उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । चितवन राइनोजको नेतृत्व राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले गर्नुहुनेछ ।
प्रतियोगिताको लिग चरणमा दुई खेलमा मात्रै जित हात पारेर एलिमिनेटरसम्म पुगेको बिराटनगर टाइटन्सलाई ‘अन्डर डग’ भनिएको छ । उसले लिग चरणको अन्तिम खेलमा बुटबल ब्लास्टर्सलाई पराजित गरेर एलिमिनेटरमा अप्रत्याशित रुपमा स्थान मात्रै सुनिश्चित गरेनन बरु नेटरन रेटमा उछिन्दै काठमाडौं गोल्डेन वरियर्सलाई प्रतियोगिताबाट बाहिर पठायो ।
एलिमिनेटरमा पनि उक्त प्रदर्शनलाई निरन्तरता दिदै बुटबललाई हराएको बिराटनगरले उपाधिका लागि कुनै गलती नदोहोर्याउने दृढताका साथ मैदानमा उत्रिनेछ । प्रदीप सिंह ऐरीको कप्तानीमा रहेको बिराटनगरले चितवनलाई हराएर उपाधि हात पार्नु सहज हुने छैन् ।
चितवन प्रतियोगिताको सुरु देखि नै ब्याटिङ्ग, बलिङ्ग र फिल्डिङ्गमा अत्यन्तै सन्तुलित देखिएको छ । ब्याटिङ्ग र बलिङ्गमा कुनै एक खेलाडीमाथि निर्भर नरहने चितवनको प्रदर्शनमा प्रत्येक खेलाडीको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।
चितवनका खेलाडीको प्रदर्शन
चितवन राइनोजको ब्याटिङ्गमा भारतीय ब्याट्सम्यान सन्नी पटेल र फिनिशरको रुपमा आरिफ शेषले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । मध्यक्रममा कप्तान पारस खडका र बाबर हयातले संकटमा रहेको अवस्थामा चितवनलाई संयमित पारी खेल्दै आएका छन् । रोहन मुस्तफाको प्रदर्शनले चितवनको ब्याटिङ्गलाई अझै सशक्त बनाएको छ ।
बाबरले पाँच खेलमा १९८ रन बनाउनुभएको छ । रोहनले १५७, कप्तान खडकाले १२५ तथा फिनिशरको भूमिकामा आरिफले १४२ रन बनाएका छन् ।
बलिङ्गमा करण केसी, भुवन कार्की, सन्नी पटेलले विपक्षी टोलीलाई चुनौती दिदै आएका छन् । केसी ११ विकेट लिएर प्रतियोगिताका सबैभन्दा सफल बलर बन्नुभएको छ । भुवन कार्कीले १० तथा स्पिनर पटेलले ९ विकेट लिनुभएको छ ।
बिराटनगरको ब्याटिङ्ग र बलिङ्ग
चितवन विरुद्ध मात्र ३६ बलमा पाँच चौका र पाँच छक्का लगाएर ६२ रन बनाउनुभएका लोकेश बममाथि फाइनलमा फेरी एकपटक प्रशंसकको नजर रहनेछ । पाकिस्तानका अलराउन्डर मोहम्मद जाइद आलमले सुनिल धमलालाई ओपनिङ्ग जोडीको रुपमा सघाउनेछन् । धमलाले बुटबल विरुद्ध एलिमिनेटरमा ६१ रनको अद्र्धशतकीय पारी खेलेर बिराटनगरको जितमा महत्वपूर्ण योगदान दिनुभयो । आफूलाई प्रमाणित गर्न उहाँले चितवन विरुद्ध समेत उक्त प्रदर्शनलाई निरन्तरता दिनुपर्नेछ । मोहम्मद जाइद विष्फोटक सुरुवात दिलाउन तीक्ष्ण छन् । बिराटनगरले यी दुबै ब्याट्सम्यानले ठूलो पारी खेल्ने अपेक्षासहित मैदानमा उत्रिनेछ । मध्यक्रममा कप्तान प्रदीपसिंह ऐरीले समेत संयमित पारी खेल्दै आउनुभएको छ ।
बिराटनगरका लागि ब्याटिङ्ग र बलिङ्गमा भारतीय अलराउण्डर पुनित मेहरा संकटमोचकको रुपमा देखा पर्नुभएको छ । बुटबल विरुद्ध एकै ओभरमा तीन विकेट लिएर खेल आफ्नो पक्षमा पारेको बिराटनगरका पुनितले प्रतियोगिताको छ खेलबाट २०४ रन जोडेर सबैभन्दा सफल ब्याट्सम्यानको रुपमा स्थापित हुनुभएको छ । बलिङ्गमा उहाँले आठ विकेट लिनुभएको छ । नोमान खान ठूला प्रहार गर्न सक्षम खेलाडी हुन् ।
बलिङ्गमा जितेन्द्र मुखिया, किशोर महतो, सहाब आलमको तीकडीले समय समयमा आफ्नो प्रदर्शनले विपक्षी टोलीमाथि हाबी हुँदै आएको छ । यद्दपी तीनैजनाको प्रदर्शनमा ‘कन्सिस्टेन्सी’ देखिएको छैन् । जुन गलतीलाई आज तीनैले सुधार गर्ने दृढताका साथ मैदानमा उत्रिनेछन् ।
अहिलेसम्मको भेट
बिगत्को प्रदर्शनको आधारमा चितवनको प्रदर्शन बिराटनगरमाथि हाबी रहेको छ । दुबै टोली अहिलेसम्म दुई पटक एक अर्काको सामना गरेको छ । दुबैमा चितवनले जित हात पारेको छ । लिग चरणमा चितवनले १४७ रनको लक्ष्य प्रस्तुत गर्दा बिराटनगर १८ रनले पछाडि रहन गई पराजित हुन पुग्यो । यसअघि २०१८ मा चितवनले रोमाञ्चक स्पर्धामा मात्र तीन रनले विजयी भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?